तीन घन्टा समय लगाएर ढोका फोडेर सहकारीमा चोरी


भक्तपुर – सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित खल्पिटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ।

दुई जनाको समूहमा आएका व्यक्तिले मंगलबार राति सहकारीको चार वटा ढोका फोडेर चोरी गरेको प्रहरीले जनाएको छ। सुरूमा सहकारीको च्यानलगेट फुटाए भित्र दराज तथा सेफमा रहेको उक्त नगद चोरी भएको प्रहरीले जनाएको छ।

सिसिटिभी फुटेजमा राति १२ बजेतिर ढोका फुटाइएको देखिएको छ। झन्डै तीन घन्टासम्म समय लगाएर ढोका फोडेर चोरी गरे पनि कसैले सुइँको नपाएको स्थानीयले बताए।

खल्पिटार सहकारी रहेको क्षेत्र घनाबस्तीमा छ। बिहान उज्यालो भएपछि मात्रै स्थानीयले चोरी भएको थाहा पाएका थिए। चोरीमा संलग्नले मास्क लगाएको देखिएको छ। महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ।

प्रतिक्रिया