राष्ट्रिय एकतालाई मजबुत गर्दै अघि बढ्नुपर्छ : मन्त्री कार्की
काठमाडाैं – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै र आन्तरिक एकतालाई मजबुत गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।
प्रेस युनियन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । मन्त्री कार्कीले विविध जातजाति, भेषभुषा, रहनसहन नेपालको कमजोर पक्ष नभई शक्ति भएको पनि बताए ।
उनले जातीय भेदभाव र बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु सबैको दायित्व भएको पनि बताए । मन्त्री कार्कीले आफ्नो-आफ्को काम र कर्तव्यलाई बुझेर अघि बढे देश विकासको उद्देश्यमा सफलता मिल्ने पनि बताए ।
मन्त्री कार्कीले भने, ‘हाम्रो गन्तव्य अब मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै, आन्तरिक एकतालाई अझ मजबुत गर्दै अघि बढ्नुपर्ने आजको हाम्रो आवश्यकता हो । विविध जातजाति, भेषभुषा, रहनसहन नेपालको कमजोरी होइन, सबलता हो । यो नेपालको सबैभन्दा ठूलो बल हो ।
जातीय भेदभाव, बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु आज हामी सबैको दायित्व हो । हामी फरक भूमिकामा छौं तर हामी सबैको उद्देश्य यो देशलाई समृद्ध गराउनु हो । त्यो भूमिकामा हामी अगाडि बढौं ।’ मन्त्री कार्कीले १० वर्षमा धनी नेपाल र धनी नेपालीको देश बनाउनका लागि काम गर्नुपर्ने बताए ।