

लिखु तामाकोशी गाउँपालिका अध्यक्षविरुद्ध सवा ४ कराेडको भ्रष्टाचार मुद्दा, २७ जना मुछिए

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लाको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, सहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले विहीबार अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाई, तत्कालीन लेखापालहरू दुर्गाबहादुर तामाङ र नोर्बु लामासहित विभिन्न उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर भएको गरेको हो ।
गाउँपालिकामा विद्युतीकरण गर्दा ४ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा अध्यक्ष खड्काविरुद्ध बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
अख्तियारले गाउँपालिका अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ, न्यौपानेविरुद्ध एक करोड १२ लाख ८२ हजार एक सय ७८ रुपैयाँ, तामाङविरुद्ध एक करोड २६ लाख ७५ हजार ५ सय ३ रुपैयाँ, चौलागाईविरुद्ध ३ करोड ८ लाख १८ हजार ५ सय २८ रुपैयाँ र लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार २ सय २ रुपैयाँ बिगो दाबी गरेको छ । उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै उपभोक्ता समितिका अध्यक्षसहितका पदाधिकारीविरुद्ध पनि एक करोड बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दामा विपक्षी बनाइएको छ ।
गाउँपालिकाअन्तर्गत ४ नम्बर वडाको बिजुलिकोट, वडा नं. ५ नागदह र वडा नं. १ दुरागाउँमा विद्युतीकरण गर्न विद्युतीय सामानहरु खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफूअनुकूको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको उजुरीको आधारमा अख्तियारले छानबिन गरेको थियो ।

