७५ खानेपानी योजना निर्माण चरणमा


लमजुङविकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन् ।खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन् । ती योजनाका लागि सङ्घ र प्रदेश सरकारबाट रु १६ करोड आएको कार्यालय प्रमुख इन्जिनीयर शम्भुराज खनालले जानकारी दिए ।

उनका अनुसार सङ्घ सरकारबाट ५० वटा योजनाका लागि रु ११ करोड ६० लाख , प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि रु चार करोड ४६ लाख बजेट विनियोजन भएको छ । यी दुबै सरकारबाट प्राप्त योजना सम्झौता भएर निर्माणधीन चरणमा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले यसै आर्थिक वर्षभित्र ठूला दुई वटा योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । रु ५६ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको भारते खानेपानी आयोजना र रु ३३ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको बाङ्ग्रे लिफ्ट खानेपानी आयोजना गरी दुई ठूला योजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यस्तै सङ्घ सरकारबाट बजेट थप भई आएमा यस वर्ष सङ्घ सरकारको २५ वटा योजना र प्रदेश सरकारबाट बजेट थप भईआएमा यसवर्ष प्रदेश सरकारको १२ वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको कार्यालयले जनाएको छ ।  आर्थिक वर्ष २०७२÷७३ देखिको केही आयोजना बजेट अभावका कारण क्रमागतमा रहेको कार्यालयले जनाएको छ ।

आगामी चैत महिनासम्म बजेट थप भई आएमा लक्ष्य पूरा गर्न सकिने प्रमुख खनालले बताए । खाइपाइ आएका पुराना योजनालाई मर्मत, स्तरोन्नति र क्षमता अभिवृद्धि गर्दै उपभोक्तालाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको छ ।

सरकारको लक्ष्य अनुरुप प्रत्येक घरमा एक घर एक धारा निर्माण गर्ने लक्ष्यका साथ ती योजना निर्माण भइरहेका छन् । केही स्थानमा खानेपानीको मुहान तथा स्रोत नभएका ठाउँमा भने लिफ्टिङमार्फत उपभोक्तालाई पानि खुवाउने लक्ष्य रहेको छ ।  जिल्लामा खानेपानीको समस्या विस्तारै हट्न थालेका छन् ।यी योजना बेलैमा सम्पन्न भएमा भने अधिकांश जिल्लाका स्थानीयवासीका घरघरमा खानेपानीको धारा तथा पानी पुग्नेछ ।

(रासस)

प्रतिक्रिया