छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


काठमाडाैँ- आफैँले पढाउने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापाबाट एक शिक्षकलाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका– १० निवासी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी पक्राउ परेका हुन्। सिवाकोटी हल्दिबारी गाउँपालिका – १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीका शिक्षक हुन्।

उनले सोही विद्यालयमा अध्ययनरत १३ वर्षीया एक छात्रालाई शुक्रबार दिउँसो परीक्षा सकेर घर जाँदै गर्दा बाटोमा यौनजन्य दुर्व्यवहार गरेको आरोप छ। आफूलाई शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो। घटना सुनेर आक्रोशित बनेका अभिभावक र स्थानीयले विद्यालयमा पुगेर विरोध जनाएका छन्।

त्यसक्रममा आक्रोशित भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका छन्।
प्रहरीले शिक्षक सिवाकोटीलाई घरबाटै पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रतिक्रिया