बढुवा सिफारिस भएका तीन प्रहरी नायब महानिरीक्षकविरुद्ध उजुरी


काठमाडाैं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) विरुद्ध असन्तुष्ट डीआईजीहरूले उजुरी दिएका छन् ।

बढुवा समितिको सिफारिसको निर्णयमा आफूहरूको बढुवा हुनुपर्ने माग राख्दै डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले बढुवा समितिको सचिवालय गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

मंगलबार गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष, सदस्य सचिव आईजीपी शैलेश थापा क्षेत्री र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी बसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

बढुवा सिफारिसविरुद्ध चित्त नबुझे एक हाताभित्र बढुवा समितिमा उजुरी दिनुपर्ने कानुनी व्यवस्था छ । उजुरीमाथि पुनरावलोकन समितिले अध्ययन गर्नेछ । पुनरावलोकन समितिमा लोकसेवा आयोगका अध्यक्ष, नेपाल सरकारको मुख्य सचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया