अस्पतालजन्य फोहोर व्यवस्थापनमा कोरियाको सहयोग


काठमाडौं – सार्वजनिक स्वास्थ्य संस्थालाई सङ्क्रमणमुक्त तुल्याउने उद्देश्यले गणतन्त्र कोरियाले अस्पतालजन्य फोहोर व्यवस्थापनका निम्ति तीनवटा अस्पताललाई रु ४१ लाखभन्दा बढीका उपकरण प्रदान गरेको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, नुवाकोट जिल्ला अस्पताल र टीकापुर अस्पताललाई आज ती उपकरण हस्तान्तरण गरेको हो ।

कोइका नेपाल कार्यालयले गत वर्षदेखि वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । त्यसै क्रममा उसले कागेश्वरी मनोहरा नगरपालिकाका पाँच र ललितपुर महानगरपालिकाका दुईवटा विद्यालयलाई वातावरणीय समस्या समाधान गर्न सहयोग गरेको थियो । कोरियाली सहयोगमा भक्तपुर क्यान्सर अस्पतालमा पनि फोहोर व्यवस्थापन परियोजना सञ्चालन भइरहेको कोइकाले जनाएको छ ।

कोइकाले आज एक विज्ञप्ति निकालेर उक्त सहयोगबाट समग्र अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा सुधार हुने तथा अस्पतालजन्य फोहोर व्यवस्थापनका साथै स्वस्थ र जिम्मेवार व्यवहारको विकास भई अस्पतालमा सङ्क्रमणको जोखिमलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया