

भारतीय प्रधानमन्त्रीका ‘बौद्धिक सल्लाहकार’ राजावादी आन्दोलन पक्षमा, सोनियाँ गान्धीले राजतन्त्र गिराएको दाबी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासनलाई सल्लाह दिने ‘थिङ्क ट्यांक’ अर्थात् बौद्धिक सल्लाहकार मध्येका एक जना भारतीय सेनाका पूर्व मेजर जनरल जीडि बक्सीले नेपालमा राजतन्त्र खाँचो रहेको उल्लेख गरेका छन्।
राजावादीहरूले विभिन्न चरणमा गरेका आन्दोलनलाई समर्थन गरेका उनले कम्युनिस्ट र खासगरी माओवादीले नेपालको हिन्दूत्वलाई खत्तम पारेको ट्वीटमार्फत बताएका छन्।
तीन घन्टामा तीनवटा ट्वीट गर्दै शनिबार उनले राजावादीले गरिरहेको हिन्दूत्वको पक्षको आन्दोलनमा समर्थन जनाउँदै हिन्दु राज्य स्थापना हुनुपर्ने धारणा पनि अघि सारेका छन्।
उनले भनेका छन्,‘भारतीय जनताले नेपालमा हिन्दु राज्यका लागि संघर्ष गरिरहेका नेपाली जनतालाई सहयोग र समर्थन गर्नुपर्छ। उनीहरूले हिन्दू हुनुमा गर्व गर्छन्।’
उनले चार दिनअघि गरेको एउटा ट्वीटमा नेपालको राजतन्त्र गिराउनका लागि भारतीय कांग्रेस नेतृ सोनियाँ गान्धीको हात रहेको पनि उल्लेख गरेका छन्। सो क्रममा उनले राजीव गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा नछिर्न सोनियाँले भनेको तर नेपाली जनता रुष्ट भएपछि हिन्दूत्व र राजतन्त्र समाप्त पार्ने काम भएको उल्लेख गरेका छन्।
बौद्धिक सल्लाहकारको खुला रुपमा आएका यस्ता ट्वीट र विचारले अहिले चलिरहेको राजतन्त्र र हिन्दूत्वको आन्दोलनमा भारतीय प्रधानमन्त्री मोदी प्रशासनको पनि साथ रहेको अड्कल काटिएको छ।
त्यसो त मोदीको विश्वास मानिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही बर्ष अघि नेपालका राजा ज्ञानेन्द्रलाई बोलाएर सम्मान मात्र गरेका थिएनन्, महाराजासँग भेट भएको भनी ट्वीट गरेका थिए। भारतीय कुटनीतिक नियोगले पनि पूर्वराजा ज्ञानेन्द्रलाई ‘महाराजा’ भनेरै सम्बोधन गरेका कतिपय कुटनीतिक नोटमा भेटिन्छन्।
केही समय अघि पूर्व राजा ज्ञानेन्द्रले पत्रकार पी खरेललगायतलाई विमानमा बोलाएर भारतका तत्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहले भुटान जस्तै बन्नका लागि प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको भन्ने विवरण पनि बाहिरिएको थियो।
India will have to atone for its sins of helping communists and Maoists. The people of India must support the Just struggle of the people of Nepal to make Nepal a Hindu Rashtra again. They are PROUD HINDUS. why should they not be?
— Maj Gen (Dr)GD Bakshi SM,VSM(retd) (@GeneralBakshi) December 5, 2020

