राष्ट्रसंघ महासभामा भाग लिन आज न्युयोर्क जाँदै प्रधानमन्त्री शाह


काठमाडाैं – संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार अमेरिकाको न्युयोर्क जाँदै छन् । उनी १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो । उनले नेपाली समयअनुसार ९ असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आउने–जानेबाहेक तीन दिन न्युयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटबाहेक कुनै पनि द्विपक्षीय भेटवार्ता गर्ने छैनन् । नेपाल आफैँले आयोजना गरेको सगरमाथादेखि समुद्रसम्मको जलवायुकेन्द्रित कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी नहुने भएका छन् । प्रधानमन्त्री शाह ९ असोजमा न्युयोर्कमा सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रको कार्यक्रम तालिकामा उल्लेख छ ।

प्रधानमन्त्री शाहले १० भदौमा नेपाल–चीन सीमाक्षेत्रस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले नेपालीहरूलाई पारेको असर मात्र नभएर यो क्षेत्रलाई नै दिने चेतावनीबारे धारणा राख्नेछन् । महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल सोमबार न्युयोर्क पुगिसकेका छन् ।

प्रतिक्रिया