
आजको माैसमः कोशीसहितका केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौ – हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। यसका साथै मध्यपूर्व बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतातर्फ सर्ने सम्भावना रहेको छ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली/पहाडी क्षेत्र र तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षा र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



कागजपत्र |
