सचिवालयमा प्रचण्डविरुद्ध उभिए बादल, स्थायी समितिमा ओली सन्तुलित शक्तिमा!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद आजदेखि स्थायी समितिको छलफलको विषय बन्ने निधो भएको छ। १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सचिवालयमा प्रस्तुत भएका अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुनेछ।

उक्त प्रस्ताव स्थायी समितिमा लैजान र प्रधानमन्त्री ओलीको तत्काल राजीनामा नमाग्नका लागि गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलले अडान राखेका थिए।

‘अहिले मुलुकलाई अस्थिरतामा लाने कुनै पनि प्रकारको निर्णय गर्नु उचित हुँदैन, यी दुवै प्रस्तावलाई स्थायी समितिमा छलफल गरौं, त्यहाँ निकास ननिस्किए केन्द्रीय समिति पनि छ’, बादलले सचिवालय बैठकमा भनेको उदृत गर्दै उच्च स्रोतले भन्यो,‘अध्यक्षहरूलगायत हामी कोर अफ दी लिडरसीपको विवादको फाइदा अन्य शक्तिले उठाउने चरणमा पुगेको छ, हेक्का राखौं।’

प्रणालीगत हिसाबमा जाँदा पनि महाधिवेशनसम्म कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका सबै काम गर्ने र अध्यक्ष ओलीले सरकार चलाउने विषयलाई कार्यान्वयन गरेरै जाँदा उचित हुने मत राखेका बादलले अहिले सरकारबाट ओलीको राजीनामा माग्नु उचित नहुने भन्दै प्रचण्डविरुद्ध धारणा दिएका थिए।

यता आजदेखि सुरु हुने स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओली सन्तुलित शक्तिमा रहेको बताइन्छ। दोस्रो पुस्ताका नेताले ओलीको राजीनामा नभई आत्माआलोचनाले नै अहिलेको नेकपाभित्रको विवादको अन्त्य हुन सक्ने सुझाव दिने तयारी गरेका छन्। दुवै अध्यक्षको प्रतिवेदनमाथिको छलफलपछि स्थायी समितिले अर्को साझा सहमतिको प्रस्तावका लागि सचिवालयलाई सिफारिस गर्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया