महेश बस्नेतविरुद्ध शोभाले दिएको झुटो मुद्दा तामेलीमा जानुका यस्ता छन् कारणहरु


काठमाडौं – नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पाठकले अदालतमा पेश गरेका कागजातहरु नक्कली भएको तथा कपोकल्पित ढंगले पेश गरेको भन्दै मुद्दा नचल्ने निर्णय गरेपछि बस्नेतलाई फसाउन लागेको पुष्टि भएको हो ।

पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रुणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्दा दर्ता गरेकी थिइन् । प्रहरी परिसर टेकु, काठमाडौँले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि मुद्दा नचल्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायधिवक्ता चन्द्रप्रसाद सञ्जेलले २०८१ वैशाख ४ गते मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेका थिए । सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलिमा राख्ने निर्णय गरेको हो ।

पाठकले जाहेरीमा आफु र महेश बस्नेत विगत ५ वर्षदेखी लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनि उल्लेख गरेको बारेमा २०८० बैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा बैबाहिक सम्बन्ध कायम गरेको भनि खुलाएको हुँदा उक्त स्वेच्छाले २ पटक गर्भपतन गराएको हो या होइन, हो भने पनि गर्भ कसको हो भन्ने एकिन गर्न सक्ने अवस्था छैन ।

मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनि निजले दावी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनि खुल्न आएको देखिँदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेश गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको देखिन्छ ।

साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्तालले प्रहरीलाई पठाएको छ ।

साथै महेश बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गरेको भन्ने विषयमा बुझ्दा भक्तपुर अस्पतालको मिति २०८० चैत २७ गतेको पत्र जवाफमा आव २०७२÷७३ को अस्पतालको मुल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पौष २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गरेको देखिएको व्यहोरा प्रमाणीत गरि अस्पतालको मुल दर्ता रजिष्टर समेत पाठाएको छ । यी आधारमा सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहिन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्दा नचलाउने निश्कर्षमा पुगेको हो ।

त्यस्तै प्रहरी वृत नयाँबानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा निवेदक पाठक निज बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरु संलग्न राखी पठाइएको छ । साथै सोही दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को  केन्द्रीय कमिटी बैठकमा पोलिटव्युरो सदस्य बस्नेत उपस्थित रहेको व्यहोराको पत्रको हाजिरीको प्रतिलिपी एमाले केन्द्रीय कार्यालयले पठाएको छ । जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा निज संलग्न रहेको भनि झुटा दावी गरेको प्रहरी अनुसन्धानको निष्कर्श रहेको कुरा सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ ।

त्यसै गरी पाठकले मंसिर ७, ८ र ९ गते बस्नेतले आफुलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरुमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनि दावी गरेको सन्दर्भमा अनमोल बस्नेत मंसिर ७ गते युवा संघको कार्यक्रममा सहभागि भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको देखिन्छ । सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत मंसिर ७ गते पोखरा गई ९ गते फर्किएको पुष्टी भएको छ ।

साथै ९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११ः३० को फ्लाईटबाट काठमाडौँबाट जनकपुर गएको देखिएको छ । जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनि जोहेरी दरखास्तमा दावी गरेको व्यहोरा झुटो ठहरिएकोले रिट निवेदन तामेलिमा राख्ने निर्णय भनिएको छ ।

प्रतिक्रिया