दिउँसै बँदेलको आक्रमणमा परे मानिस, ७ जना घाइते


दैलेख – रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ ।

आज भैरवी गाउँपालिका-६ कुसापानीमा गहुँ काटिरहेका स्थानीयलाई आक्रमण गर्दा एउटै बँदेलले सात जनालाई घाइते बनाएको छ ।

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरवी गाउँपालिका-६ का वडाध्यक्ष तुलबहादुर हमालले बताए ।

बँदेलको टोकाइबाट भैरवी गाउँपालिका-६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिंजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते भएका छन् ।

घाइते सबैलाई लखेट्दै बँदेलले पछिल्तिरबाट खुट्टाका साप्रामा टोकेको पानीपोखरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिए ।

घाइते सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ । घाइतेमध्ये गणेश सलामी सख्त घाइते हुनुभएकोले थप उपचारका लागि सदरमुकाम ल्याइएको वडाध्यक्ष हमालले बताए ।

गएको फागुनमा भैरवी गाउँपालिका-६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टा र हातको औँला टोकेरको छ ।

प्रतिक्रिया