दुर्घटनामा परेका भोजबहादुरलाई सहपाठीको सहयोग


सर्लाही – दुर्घटनामा घाइते भएका सर्लाहीका एक व्यक्तिलाई नगद सहयोग गरिएको छ । भक्तपुरमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते भएका सर्लाहीको हरिवन– ८ का भोजबहादुर मगरलाई नगद ४ लाख ५३ हजार २ सय ७८ सहयोग गरिएको छ ।

महादेव जनता नमुना माविका पूर्व विद्यार्थीहरुको समूहले घाइते मगरलाई उक्त सहयोग गरेको जनाएका छन् । सो विद्यालयबाट २०५९ एसएलसी दिएको विद्यार्थीहरुको समूहले दुर्घटनामा परेर मेरुदण्ड भाँचिनुका साथै मुख्य नशा चुट्टिएर घाइते हुँदा दुवै खुट्टा नचल्ने अवस्थामा पुगेका सँगै पढेका साथी भोज बहादुरलाई उक्त सहयोग गरेको सोही समूहका विनय तिमल्सिनाले  जनाए ।

दुर्घटना पश्चात् लामो समय भक्तपुरको मध्यपुर थिमी अस्पतालमा तथा काभ्रेको इस्पैनल इन्जुरी अस्पतालमा उपचार गराउँदा पनि मुख्य नशा चुट्टिएकोले दुवै खुट्टा नचल्ने जानकारी अस्पतालबाट प्राप्त भएपछि जीवनदेखि निरास हुदै हाल भोजबहादुर अहिले गाउँमा नै ह्वीलचेयरको साहारामा बाँच्न विवश छन् ।

No description available.

‘देशविदेशमा रहेका आफुसंगै एस. एल. सी. २०५९ मा पढेका मनकारी साथीहरुबाट हामीले सहयोग संकलन गरेका हौँ,’ उक्त अभियान चलाउने समूहका सदस्य तिमल्सिनाले भने, ‘भोज बहादुरको स्वास्थ्य र आर्थिक अवस्था दुबै नाजुक भएको पाएपछि हामीले उहाँको उपचार लगायत का अन्य खर्च जुटाउन सहयोग संकलन अभियान चलाएका हौ।’

उक्त सहयोग रकम महादेव जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र बिद्यार्थीहरु बिरामी अवस्थाका भोजबहादुर मगर को घरमा उपस्थित भइ विद्यालयको प्रधानाध्यापक जयशङ्कर सिंहको हात बाट रकम हस्तान्तरण गरेको विनय तिमल्सिनाले जानकारी दिए। साथै सहयोग रकम हस्तान्तरण गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले भोजबहादुरका छोरिहरुलाई पढ्नका लागि किताब, कलम, ड्रेसलगाएतका सम्पूर्ण खर्च विद्यालयले बेहोर्ने गरि निःशुल्क पढाउने पनि जनाए ।

अहिले पहिलो चरणमा जम्मा भएको रकम उपलब्ध गराएको बताउँदै तिमल्सिनाले भने, ‘पछि फेरी थप सहयोग गर्नु पर्ने अवस्था आएमा फेरि पनि सहयोग गर्ने छौँ।’

प्रतिक्रिया