चौधरीको राजनीतिक सक्रियतासँगै नवलपुरबासीमा उत्साह !


नवलपुर – नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत नवलपुर (सुस्ता पूर्व) को जिल्ला अधिवेशनबाट जिल्लामा केन्द्रीय सदस्य विनोद चौधरी प्रमुखशक्तिको रुपमा उदाएका छन् ।

केन्द्रीय महाधिवेशनको करिब २ महिनापछि सम्पन्न जिल्ला अधिवेशनमा केन्द्रीय सदस्य तथा कांग्रेसका पूर्व महामन्त्री डा. शसांक कोईराला, संघीय निर्वाचन २०७४ का उम्मेदवार विष्णु कार्की लगायतको संयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै चौधरी निकटका उम्मेदवार चन्द्रबहादुर राना अत्याधिक मतसहित उपसभापतिमा विजयी भएपछि चौधरी नवलपुर कांग्रेसमा राजनीतिक रूपमा पनि बलियो शक्ति भएको पुष्टी भएको छ ।

करिब २ महिनाअघि सम्पन्न कांग्रेसको केन्द्रीय महाधिवेशनबाट कांग्रेस राजनीतिमा प्रजातान्त्रिक पद्दतिका साथ अघि बढेका चौधरी अब जिल्ला राजनीतिमा मात्र नभएर राष्ट्रिय राजनीतिमा पनि ‘उदाउँदो तारा’ भएर निस्कने संकेत देखिएको छ ।

नवलपरासीलाई केन्द्रबिन्दु बनाएर व्यावसाय तथा सामाजिक कार्य गरिरहेका चौधरीको राजनीतिक उपस्थिति नवलपुरमा स्वीकार्य रहेको पनि रानाको जितसँगै जिल्ला अधिवेशनबाट पुष्टी भएको कतिपय राजनीतिकर्मीहरु बताउँछन् ।

महाधिवेशनकै पूर्वसन्ध्यामा कतिपय पुराना र योग्य कार्यकर्तालाई महाधिवेशन प्रतिनिधिमै हराउन खुलेरै लागेका संघीय संसदका उम्मेदवार विष्णु कार्कीका कारण रुष्ट बनेका नेता तथा कार्यकर्तामा चौधरी प्रमुखशक्तिमा देखिएपछि खुशीयाली छाएको देखिएको छ ।

केन्द्रीय नेतृत्वमा पुग्ने ल्याकत राख्ने एवं बीपी पुत्र डा. शशांक कोइरालालाई नेता पाएको नवलपुरले जब उनकै स्वकीय सचिवका कारण उनीसँगको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता नवलपुर कांग्रेसका लागि सकारात्मक पक्ष नदेखिइरहेको बेला चौधरीको राजनैतिक सक्रियता खुशीको कुरा बनेको कतिपय कांग्रेसीहरू बताउँछन् ।

डा. कोइराला केन्द्रीय राजनीतिमै व्यस्त हुनु, जिल्लामा उपस्थिति कम हुनु र कार्यकर्ता भेटघाटको क्रमभंग हुनुको नतिजा गत स्थानीय निर्वाचनमा गैंडाकोट र कावासोती नगरपालिकाले भोगेको तीतो यथार्थता छ । कार्यकर्ताबीच गुटबन्दी, आफ्नै उम्मेदवारविरुद्ध स्वकिय सचिवको प्रचारबाजीका कारण भर्खरै सम्पन्न जिल्ला अधिवेशनमा उपसभापतिमा डा. कोइरालाका उम्मेदवार रहेका उदयराज अधिकारीको पराजय अर्को उदाहरण बन्न पुग्यो ।

त्यतिमात्र नभई डा. कोइरालाकै उम्मेदवारलाई उनकै स्वकिय सचिवले साथ नदिनु, नकारात्मक प्रचारबाजी गर्नु र पराजित भएपछि पछिल्लो समय नैराश्यता पैदा भएको अवस्थामा चौधरीको उपस्थितिले केही हदसम्म भए पनि नवलपुर कांग्रेसीले राहत महसुस गरेका छन् ।

नवलपुरकै माटोमा व्यावसाय सञ्चालन गरी विश्वबजारसँग चिरपरिचित चौधरीले गरेको लगानी र समाजसेवा हुँदै नवलपुरबाटै राजनीतिमा प्रवेशबाट सर्वसाधारणमा आशा जागेको छ । अब फेरि नवलपुरमा कांग्रेसले एकछत्र राज जमाउनका लागि चौधरीको उपस्थिति नै प्रमुख र निर्णायक कारक बन्ने अपेक्षा कार्यकर्ताले गरेका छन् । अन्य जिल्लाहरुमा नेतृत्वका लागि पटक–पटक मतदान/निर्वाचन र विवाद भइरहेको अवस्थामा नवलपुरमा भने जिल्ला सभापति जस्तो पदका लागि सर्वसम्मत् बनाउन सक्नु चौधरीको अर्को सफलताको कडी देखिएको छ जसबाट केन्द्रीय तहदेखि स्थानीय तहसम्म चौधरीको उपस्थिति सार्थक सिद्ध देखिएको छ ।

कांग्रेसका लागि सबैभन्दा बलियो जिल्ला मानिएको नवलपुरबाट अहिलेसम्म केन्द्रीय वा संघीय मन्त्रीसम्म पनि हुन नसकिरहेको परिस्थितिलाई ध्यानमा राख्दै चौधरीको राजनीतिक प्रवेशसँगै नवलपुरले केन्द्रीय नेतृत्वमा ढोका खोल्ने विश्वास एवं अपेक्षा कार्यकर्ताहरुले गरेका छन् ।

अहिलेसम्म बिजुलीबत्ती देख्न नपाएका कतिपय पहाडी क्षेत्रका स्थानीयले सदियौंदेखि कांग्रेसमा गरेको योगदानको प्रतिफल पाउनका लागि नीति तथा निर्णायक तहमा चौधरीको उपस्थितिको प्रतिक्षा गरिरहेका छन् ।

‘अरु केही नपाए राजनीति गर्ने’ भन्ने मान्यतालाई उल्ट्याउँदै व्यावसायिक जीवनको ‘शिखर’ पुगिसकेपछि राजनीतिमा सक्रिय बनेका चौधरीको उपस्थितिले नवलपुरमा कांग्रेसमात्र नभई अन्य दलका कार्यकर्तामा समेत उत्साह देखिएको छ ।

एक क्षेत्रमा सफलताको शिखरमा पुगिसकेको व्यक्ति हरेक क्षेत्रमा सफल नभए पनि असफल चाहिँ पक्का हुँदैन, किनकी सफलता कसरी हात पर्छ र असफलताबाट बच्न के गर्नुपर्छ भन्ने कुरा उसलाइ राम्रोसँग थाहा हुन्छ, त्यसैले नवलपुरको विकासका लागि चौधरीको राजनीति अवश्य सफल हुन्छ भन्ने विश्वास राख्न सकिन्छ ।

कतिपयले राजनीतिलाई ‘मागी खाने भाँडो’ बनाईरहेको अहिलेको परिवेशमा विकासका योजनासहित चौधरी राजनीतिमा प्रवेश गर्नुलाई नवलपुरबासीले भाग्यमानी महसुस गर्न लागेका छन् । ‘उहाँ जस्तो मान्छे राजनीतिमा प्रवेश गर्नु र त्यसमा पनि हाम्रै क्षेत्रबाट गर्नु नै भाग्यको कुरा हो,’ बौंदीकालीबाट नेकपा एमालेको राजनीति गर्ने एक कार्यकर्ताले बताए ।

उनले अगाडि थपे, ‘जनताप्रति र देशप्रति निष्ठावान, नैतिकवान र विकासप्रेमी नेताको खाँचो रहेको अहिलेको अवस्थामा चौधरी जस्तो व्यक्तिलाई नीति निर्माणको तहमा पुर्याउनु कांग्रेसी मतदाताको मात्र नभई जुनसुकै राजनीतिक दल र सम्पूर्ण नवलपुरबासीको दायित्व हो ।’

प्रतिक्रिया