महिलाले सञ्चालन गर्ने उद्योगमा कर छुटको व्यवस्था गर्न लागिपरेकी छुः मन्त्री रेग्मी


काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरूले संचालन गर्ने सबै उद्योगहरूमा कर छुटको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तै बताएकी हुन् ।

उनले महिलाहरूलाई उद्यमशील बनाउनका लागि उनीहरूले संचालन गर्ने सबै उद्योगहरूमा आवश्यक कच्चा पदार्थ र मेसिनहरूमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताइन् । त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्री लगायतका सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक लविङ गर्ने कामलाई आफूले सुरु गर्ने उनको कार्ययोजना थियो ।

त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन् । स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दो रहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको उल्लेख गर्दै उनले तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘महिलाहरूले सुरु गरेका उद्योगमा छुटको व्यवस्था गर्नुपर्छ । स्यानिटरी प्याडकै उदाहरण दिने हो भने देशमै उत्पादन गर्ने प्याडमा पनि कर लाग्दो रहेछ, राजस्व लाग्दो रहेछ । त्यसकारणले म आउने  बित्तिकै मन्त्रालयबाट त्यसमा छलफल गरेर पत्र खेलेर राजस्वमा पठाइसकेका छौं । त्यसका लागि आवश्यक कच्चा पदार्थ र मेसिनजस्ता वस्तुहरूमा कर लाग्नु हुन्न भनेर त्यो प्रक्रियामा हामी गएका छौं ।

यस्तै, मन्त्री रेग्मीले महिलाहरूलाई कुनै पनि अवसरबाट बञ्चित नगर्न पटकपटक आग्रह गरिन् । बल र बुद्धि सबै क्षेत्रमा अगाडि रहेका महिलाहरूलाई अवसरबाट बञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उनको भनाई रहेको थियो ।

 

प्रतिक्रिया