सात महिनामा २५ अर्बको सुन आयात, १ अर्ब ३६ करोड राजस्व संकलन


काठमाडाैं –  चालु आर्थिक वर्षको पहिलो ७ महिनामा २५ अर्ब २१ करोड रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागको माघसम्मको तथ्याँक अनुसार उक्त रकम बराबरको तीन हजार ६४३ केजी सुन आयात भएको हो । गत आर्थिक वर्षमा २७ अर्ब ३४ करोड रुपैयाँको सुन आयात भएको थियो । बजारमा सुनको मूल्य अत्यधिक बढिरहेको अवस्थामा सुन आयात भने अस्वभाविकरुपमा बढेको छ ।

गत वर्ष कोरोनाले गर्दा लामो समयसम्मको बन्दाबन्दीले आर्थिक संकट खेपिरहेको अवस्थामा कारोबार कम भएको थियो । यस वर्ष भने सुनको आयात बढेकोले माग पनि बढेकै हो त भन्ने सजिलै अनुमान गर्न सकिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले लामो समयसम्म कारोबार रोकिएको हुनाले बजार खुल्ला भएसँगै आयात बढेको हुन सक्ने बताए ।

चालू आवको माघ मसान्तसम्म आयात गरिएको सुनबाट सरकारले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
पछिल्लो समय महँगो भएकाले सुनको माग घटेको व्यवसायी बताउँछन् । यसअघि १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ आज सोहि विन्दु नजिक पुगेको छ ।

आइतबार सुनको भाउ प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । पछिल्लो समय रुस र युक्रेनको युद्धले गर्दा अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको छ । विश्व बजारमा सुनमा गरिएको लगानीलाई सबै भन्दा सुरक्षित मानिने गर्छ । त्यसैले पनि अन्य क्षेत्रमा लगानी गर्न छाडेर सुन खरिद गर्न थालिएकोले सुनको माग बढ्दो क्रममा छ ।

यसले गर्दा भाउ दैनिक रुपमा बढ्दै गएको छ । पछिल्लो तथ्याँक अनुसार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १ हजार ९७० डलरमा कारोबार भइरहेको छ । नेपालमा पनि सुनको भाउ अन्तराष्ट्रिय बजारको आधारमा नै तय हुने हुँदा यहाँ पनि सुनको भाउ लगातार बढ्दै गएको व्यवसायीहरु बताउछन् ।

प्रतिक्रिया