चौरासी वर्ष पुगेका अवसरमा विद्यालयलाई आर्थिक सहयोग


म्याग्दी – मालिका गाउँपालिका-४ च्युरीबोटमा रहेको सिद्धार्थ माविलाई चार ज्येष्ठ नागरिकले शनिबार रु तीन लाख ७० हजार सहयोग गरेका छन् । च्युरीबोटमा जन्मिएर हाल बेलायत बस्दै आएका नरबहादुर पुन, उनकी श्रीमती धनमाया, पोखरा बस्ने तनमाया पुनले रु एक/एक लाख र च्युरीबोटकी लालसरी घर्तीले रु ७० हजार सहयोग गरेका छन् ।

नरबहादुर, धनमाया र तनमायाले चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषलाई रकम उपलब्ध गराएका हुन् ।तनमायाले दिवङ्गत श्रीमान् हिमप्रकाश घर्ती (पुन)को स्मृतिमा सहयोग गरेका हुन् । हिमप्रकाशको गत वर्ष दुर्घटनामा ज्यान गएको थियो ।

उनीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, प्रअ ललितबहादुर घर्ती र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरे ।

चौरासी वर्ष पुगेको खुसियाली मनाउने फजुल खर्च बचाएर आफ्नो जन्मथलोमा विद्यालय सञ्चालन गर्न स्थापित अक्षयकोषमा सहयोग गरेको नरबहादुरले बताए । नरबहादुरका दम्पत्तिले यसअघि अक्षयकोषमा रु २५ हजार सहयोग गरेका थिए ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा तीन निजी स्रोतका शिक्षक छन् । विद्यालयमा एक सय ६८ विद्यार्थी छन् । निजी स्रोतबाट मावि सञ्चालन गरिएको हो । विद्यालयले सहयोगदातालाई सम्मान गरेको थियो ।

प्रतिक्रिया