लेहङ्गा चोलीको कारोवारबाट मनग्य आम्दानी


राजेन्द्रप्रसाद पनेरु(रासस)

कञ्चनपुरकैलाली टीकापुर नगरपालिका१ का राजबन्धु चौधरी थारु समुदायका महिलाहरूले लगाउने परम्परागत पहिरन लेहङ्गा चोलीको कारोवार गरेर मनग्य आम्दानी गर्दै आएका छन् । थारू समुदायको बाहुल्य रहेका बस्तीमा पुगेर युवायुवतीलाई परम्परागतरूपमा महिलाले लगाउने लेहङ्गा, चोली, फुलौरा कटौतीलगायत कुन चाडपर्वमा कसको के महत्व छ त्यसबारेमा समेत जानकारी दिने काम गर्छन् ।

कैलाली कञ्चनपुरका माग भएका थारू बस्तीमा आफैँ पुगेर परम्परागत पहिरन बेच्ने काम गर्छन् । बूढापाकाबाट लेहङ्गा चोली बनाउने सीप सिकेर उनले घरमै लघुउद्योग सञ्चालन गरेका छन् । उनको उद्योगमा १२ जनाले रोजगारी पाएका छन् । महिनामा ४० देखि ५० सम्म लेहङ्गा चोली तयार हुने गरेको छ । यसबाट मासिक रु ५० हजार बढी कमाइ हुने गरेको छ । एक लेहङ्गा चोली रु तीन हजारदेखि रु १० हजारसम्ममा बिक्री हुने गरेको छ ।

थारू समुदायका महिलाले चाडपर्व, विवाह र अन्य धार्मिक कार्यमा लगाउने परम्परागत पहिरनको माग धेरै छ, उनले भने, ‘बनाउने व्यक्ति थोरै छन् । यसै कुरालाई मध्यनजर गरी बूढापाकाबाट कपडा बनाउने कला सिकेर मागअनुसार आवश्यकता भएका व्यक्तिका घरदैलोमा पुर्याउँदै आएको छु । चार वर्षदेखि चौधरीले सितारा, मोती, घुघँरु, लेसलगायत जडित लेहङ्गाा चोली बनाउने काम गर्दै आएका छन् । माग धेरै छ, लेहङ्गा चोली बेच्नका लागि कञ्चनपुरको जोनापुर गाउँ पुगेका चौधरीले भने कोरोना भाइरसको सङ्क्रमणका कारण कपडा र त्यसमा जडान हुने सामान पाउन मुस्किल हुँदा थारै मात्रै उत्पादन भइरहेको छ । उत्पादित पम्परागत कपडा हाताहात बिक्री भइरहेको छ ।

सामाजिक सञ्जाल र युट्युबलगायतले थारू महिलाले लगाउने परम्परागत पहिरनको महत्व बढाएकाले युवतीहरूले यस्ता कपडाको माग गर्न थालेका छन् । आधुनिक रहनसहन र जीवनशैलीका कारण थारू समुदायका परम्परागत पहिरन हराउँदै जान थालेका थिए । थारू समुदायका संस्कृतिका भिडियो चलचित्रमा परम्परागत पहिरनको व्यापक प्रयोग हुन थालेपछि हराउँदै गएका कपडा लगाउने क्रेज बढ्न थालेको हो ।

थारू समुदायका तन्नेरी युवतीले यस्ता कपडाको बढी माग गर्दै आएका छन्, चौधरीले भने, ‘कपडा उपलब्ध गराउने कार्यसँगै घरदैलोमै पुगेर यसको महत्व र विशेषताबारे जानकारी दिने गरेका छौँ । पुस्तौँदेखि चलनचल्तीमा रहेका कपडा जोगाउनकै लागि यस व्यवसायमा लागेको हूँ । कुन थारू समुदायका चाडपर्वमा नाचिने नाचमा यस्ता पहिरनको प्रयोग हुन्छ उनले यसबारे समेत बताउने गरेका छन् ।

चौधरी परम्परागत कपडा बनाउने लघुउद्योग खोलेर युवालाई रोजगारीसँगै संस्कृतिबारे जानकारी दिनका लागि सङ्गठितरूपमा लागेका छन् । उनी थारू समुदायका हराउँदै गएका मौलिक गीतको जगेर्ना गर्ने काममा समेत संलग्न छन् । पौराणिक थारू लोकसांस्कृतिक धमार, सजना हमार परिवार नामक संस्थामा समेत आबद्ध छन् । सो संस्थामा २० वर्षे युवादेखि ६० वर्षसम्मका १४ ज्येष्ठ नागरिक आबद्ध रहेका छन् । स्वास्थ्यकर्मी, व्यापारी र मजदुर पनि आबद्ध छन् । बूढापाकाबाट तन्नेरीले खेतीपाती गर्दा, मेलापात जाँदा, हिउँदको चिसोमा बस्दा र चाडपर्वका बेला गाइने सुरिला मौलिक गीत सिक्ने र सिकाउने काम संस्थाका माध्यमबाट हुने गरेको छ ।

संस्थामा आबद्धहरूले आफँैले परम्परागत वाद्यवाधनको प्रयोग गरी पुराना गीतलाई लिपिबद्ध गर्नका लागि एल्बम निकाल्ने कार्यमा समेत लागेका छन् । जुन गाउँमा थारू समुदायका महिलाले लगाउने परम्परागत कपडा बिक्री गर्नका लागि जान्छु त्यहाँबाट बूढापाकाबाट गीत भन्न लगाउँछु । गीतका बोल टिपेर परम्परागत लयमै स्वर दिई एल्बममा लिपिबद्ध गर्ने कार्य गर्दै आएको छु, चौधरी भन्छन्, ‘थारू महिलाका लागि परम्परागत कपडा बनाउने कार्य गर्दा एकातर्फ संस्कृति जोगिएको छ भने अर्कोतर्फ मेरा लागि परिवार पाल्ने गतिलो माध्यम बनेको छ । थारू समुदायको घरदैलोमै कपडा बेच्न जाँदा पुराना गीत सङ्कलन गरी स्वर दिएर जीवन्त राख्ने कामसमेत हुने गरेको छ ।

हालसम्म आधा दर्जन बढी धमार र सजना गीतमा स्वर दिइसकेको उनले बताए । चौधरीको गोरी चले ससुराल गीत थारू समुदायमा चर्चित छ । संस्थामा आबद्ध सबै जनाले धेरै हराउँदै गएका गीतको खोजी गरी स्वर दिएका छन् । संस्थाको सञ्जाललाई कैलाली र कञ्चनपुरका थारू समुदायको बसोबास रहेका गाउँगाउँमा पुर्याएर संस्कृति संरक्षणमा टेवा पुर्याउने उनको लक्ष्य छ ।

प्रतिक्रिया