

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ । भेटमा मन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिए ।
भेटमा मन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए । मन्त्री खाणले भने, ‘एकातीर एमसीसी पास गर्नु थियो । अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो । एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।’
जवाफमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुनसकेको बताए । एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले बताए ।
एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए । राजदूत बेरीले शरणार्थीलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने सरकारको निर्णय प्रशंसनीय भएको बताए ।
एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेला नेपाल सरकारले अमेरिकन राजदूताबास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिए । उनले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गरे ।
मन्त्री खाणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको विश्वास व्यक्त गरे ।

