निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड घाटा


काठमाडौं – लामो समय देखि नाफा कमाउदै आएको नेपाल आयल निगम पछिल्लो समय घाटा बेहोरदै आएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य लगातार बढ्दै गएकाले पछिल्लो समय निगमले घाटा बेहोरनु परेको हो । पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले १५ दिनमा ३ अर्ब ९ करोड घाटा बराबरको नोक्सान हुने देखिएको निगम नेपाल आयल निगमले जनाएको छ ।

रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव आफूहरुले पनि भोग्नु परेको निगमको भनाई रहेको छ । बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्याँस, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।

डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार÷चार रुपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको उनले बताए । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्म २४ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय आयल कर्पोरेसनले पनि मूल्य बढाएर पठाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च दरले बढेको छ । मंगलबार कच्चा तेल (ब्रेन्ट)को मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ ।

दुई साताअघि यो प्रतिब्यारेल ९२ डलरको हाराहारीमा थियो । कच्चा तेलको मूल्य बढ्दै गएकाले आगामी दिनमा पेट्रोलियम पदार्थ अझै महँगिने छ । बढेको मूल्यअनुसार समायोजन नगर्दा घाटा बढेको निगमको भनाइ छ ।

निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ५९ पैसा, डिजेलमा १२ रुपैयाँ ९८ पैसा र ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ ७४ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २५ रुपैयाँ ६ पैसा र आन्तरिक हवाई इन्धनमा ९ रुपैयाँ ३ पैसा नाफा छ । त्यस्तै वाह्य हवाई इन्धनमा प्रतिलिटर ३९ रुपैयाँ ९१ पैसा नाफा छ ।

प्रतिक्रिया