गोकुल बाँस्कोटा भन्छन् : आज प्रचण्ड र माधव नेपाल एमसीसी अनुमोदनका पक्षमा आउँछन्


काठमाडाैँ – एमालेका नेता गोकुल बाँस्कोटाले आज (आइतबार) अमेरिकी सहायता सम्झौता एमसीसी संसदमा अघि बढाउन सत्तासीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तयार हुने दाबी गरेका छन्।

यसअघि सत्ता साझेदार उक्त दुई पार्टीकै असहयोगका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्तावमा छलफल थाल्न भनेर बोलाइएका प्रतिनिधि सभाका बैठक लगातार दुईपटक स्थगन गराएका थिए। अब तेस्रोपटक आज आइतबारका लागि पनि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। र, कार्यसूचीमा एमसीसी पनि छ।

तर शनिबार रातिसम्म प्रधानमन्त्री देउवाले न सत्ता गठबन्धनभित्र न प्रमुख प्रतिपक्षी एमाले कतै पटि पनि सहमति जुटाउन सकेका छैनन्। शनिबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र कांग्रेसका दोस्रो तहका नेताबीच छलफल भएको थियो। तर कुनै निचोड निस्किन सकेन।

त्यसलगत्तै एमालका एक जना प्रभावशाली नेता गोकुल बाँस्कोटाले ट्विट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्ना अडान परिवर्तन गरी एमसीसी पारितका पक्षमा आउने ‘ठोकुवा’ गरेका हुन्।

उनले शनिबार राति भनेका छन्, ‘प्रचण्ड–माधवको छेपारे गठबन्धनले भोलि (आज आइतबार) नै एकपक्षीय तमसुक घोषणा गरी रङ परिवर्तन गर्ने निश्चित। ल, कथा समाप्त भयो।’

प्रतिक्रिया