नयाँ प्रजातिको बगेडी फेला, चितवनमा पुगे ६५९ प्रजाति चरा


चितवन – चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ ।  चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रकाे शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो । नेपाल पक्षी विद् सङ्घ वाग्मतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाइने यो चरा चितवनमा पहिलो पटक भेटिएको हो ।

हिमाली क्षेत्रमा चिसो बढेको र खानाको अभाव भएपछि यहाँ झरेको हुन सक्ने संयोजक विडारीको भनाइ छ । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्षसमेत रहेका विडारीका अनुसार फोटोग्राफर चूडामणि चौधरी र प्रेम बम्जनले तस्बिर खिचेर ल्याएपछि विज्ञ टोलीले हेरेर पहिचान गरिएको हो ।

यो चरा समुद्री सतहबाट दुई हजार ४४० देखि तीन हजार ५० मिटर उचाइमा पाइने गर्दछ । अनुगमनका क्रममा एक जोडी सल्ने बगेडी फेला परेको बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।

नेपालमा १५ प्रजातिको बगेडी पाइने गरेकामा योसमेत चितवनमा मात्र १० प्रजातिको बगेडी पुगेको छ । लजालु स्वभावको यो चरा घाँसे मैदान र खेतबारीको वरिपरि पाइने गर्दछ । यो चरा युरेपेली देशमा पाइने र नेपाललगायत एसियाको चीन, अफगानिस्तानमा पनि पाइने गरेको छ ।

यो नयाँ प्रजातिको बगेडी फेला परेपछि जिल्लामा ६५९ प्रजाति चरा पुगेको चौधरीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ । यहाँ वन्यजन्तुसँगै चरा अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया