

देउवा र ओलीबीच आज पनि भेटवार्ता हुँदै, माओवादी र एकीकृत समाजवादी झनै सशंकित

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता हुने भएकाे छ। हिजाे शुक्रबार बालकोटस्थित ओली निवासमा भएकाे भेटमा छलफल निष्कर्षमा नपुगेपछि शनिबार पनि वार्ता हुने भएकाे हाे।
देउवा र ओलीबीच संसद्काे अवराेध हटाएर अघि बढ्ने र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमाेदन गर्ने विषयमा छलफल भएकाे हाे। तर ओलीले माधवकुमार नेपालसहित १४ सांसद हटाउनु पर्ने या सभामुख अग्निप्रसाद सापकाेटा हटाउनुपर्ने भन्ने शर्त राखेका छन्।
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी अनुमोदन गर्न सहयोग नगरेपछि देउवा ओलीसँग नजिकिएका हुन्। देउवाले एमालेका सबै मागका विषयमा खुला छलफल गर्न तयार रहेको पनि बताए। देउवाले एमालेसँग संवाद बढाएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु सशंकित छन्।
उनीहरुले पनि पुनः देउवासँग गठबन्धन जोगाएर अघि बढ्ने विकल्पबारे छलफल थालेका छन्। यी दुई पार्टीले भने एमसीसी यथास्थितिमा स्वीकार गर्न नसक्ने निर्णय नै गरेकाले देउवाले एमालेसँग संवाद बढाएका हुन्। एमसीसीबारे एमालेले अहिलेसम्म मुख खोलेको छैन। यद्यपी एमालेका केही नेताले एमसीसी स्वीकार नगर्दा देश आर्थिक संकटमा जाने टिप्पणी भने गरेका छन्।
शुक्रबारकाे बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौंँ भन्ने प्रस्ताव गरेकाे जानकारी दिएका थिए।
एमाले अध्यक्ष ओलीले पनि अहिलेको समयमा लोकतान्त्रिक मूल्यमान्यता बोकेका शक्तिहरू कांग्रेस–एमाले भएकाेले यी पार्टी एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका थिए
छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।

