


ए डिभिजन लिगः शुक्रबारका दुवै खेल बराबरीमा टुंगिए

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएका दुवै खेल बराबरीमा टुंगिएको छ ।
शुक्रबार भएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल र संकटाबीच र एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टार र ब्रिगेड ब्वाइजबीचका खेल बराबरीमा टुंगिएका हुन् ।
अन्तिम खेलमा जाउलाखेल र सङ्कटाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए ।
खेलको १४औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ६१औँ मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सङ्कटाले लिगमा १३ खेलबाट ३ जीत, ७ बराबरी र ३ हारसहित १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट ३ जित, ५ बराबरी र ५ हारसहित १४ अङ्क जोड्यो ।
त्यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आजै भएको अर्को खेलमा थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबवीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
खेलमा पहिलो अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको ५६औँ मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका डोना थापाले गोल गरेपछि खेल एक-एक गोलको बराबरीमा सकियो । यस बराबरीसँगै थ्रीस्टारले १३ खेलमा १९ अङ्क जोडेको छ । ब्रिगेड व्वाइजले १३ खेलमा ८ अङ्क जोड्यो । यस सिजको लिगमा ब्रिगेड ब्वाइज रेलिगेसनमा परेको छ ।

