
संसद् भवनमै देउवा–ओलीबीच छलफल
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नेताहरुबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको हो।
छलफल अहिले पनि जारी छ। छलफलमा कांग्रेसको तर्फबाट पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा सहभागी छन्।
त्यस्तै एमालेको तर्फबाट अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र एमाले उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन्।
नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।
सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा नै एमसीसीविरुद्ध सडक संघर्षमा उत्रिएपछि जसरी पनि अनुमोदन गर्ने पक्षमा रहेको कांग्रेसले प्रमुख विपक्षी एमालेसँग छलफल बढाएको हो।
आजको संसद्को कार्यसूचीमा पनि एमसीसीमाथि छलफल गर्ने समावेश थियो। तर, सरकारले सभामुख अग्नि सापकोटालाई आजको बैठक सार्न अनुरोध गरेपछि बैठक भोलि दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ।
एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेको छ। यसो नभए सभामुखलाई हटाउनुपर्ने एमालेको माग छ।



कागजपत्र |
