

सात करोडको लगानीमा ‘ताज महल’

गलेश्वर – ‘ताज महल’ आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दै गएपछि मुस्ताङको प्रवेशद्वार मानिने पर्यटकीय जिल्ला म्याग्दीमा करोडौँको लगानीमा स्तरीय होटेल सञ्चालन हुने क्रम बढ्दै गएको छ ।
यसै क्रममा हालसालै म्याग्दीको गलेश्वरमा सात करोडको लगानीमा ‘ताज महल’ होटेल सञ्चालनमा आएका छन् । २५ वर्षअघि कामको खोजीमा काभ्रेको धुलिखेलबाट म्याग्दी आएका टङ्कलाल श्रेष्ठले पर्यटक लक्षित सो स्तरीय होटेल सञ्चालनमा ल्याएको हो ।
बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर मुस्ताङ र म्याग्दी आउने पर्यटकलाई लक्षित गरेर होटेल ताजमहल लज एन्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । चालिस वर्षीय श्रेष्ठले मिहिनेतको कमाई र सीपलाई होटेल क्षेत्रमा अघि बढाएका हुन् । गलेश्वरमा जग्गासहित करिब सात करोड लगानीमा १३ आना क्षेत्रफलमा पार्किङसहितको होटेल स्थापना गरेका छन् ।
सुविधा सम्पन्न होटेलमा सयजना पाहुनाहरु बस्न सक्छन्, सुविधाअनुसारको एक हजारदेखि तीन हजारसम्मको ३६ वटा कोठा छन् । चार कोठामा बाथटप, सबै कोठामा तातोपानी स्नान र इन्टरनेट सुविधासहितको पूर्वाधार रहेकोे होटेलमा मौलिक थकाली, इन्डियन, नेपाली खाजा र खानाको परिकारसहितको सेवाहरु रहेको सञ्चालक श्रेष्ठले बताए ।
विगतमा म्याग्दी मुस्ताङ आउने पर्यटकलाई होटेल सुविधा नहुँदा बागलुङ, कुश्मा, पोखरा पठाउनुपर्ने अवस्थाको अन्त्यका लागि भएपनि कोभिड–१९ को उच्च जोखिमका बीच पनि ठूलो लगानीमा होटेल निर्माण गरेको उनको भनाइ छ । होटेलमा काम गर्दाको अनुभव र कमाई प्रयोग गरेर होटेल सुरु गरेको श्रेष्ठले भने । पछिल्लो समय म्याग्दीमा स्तरीय होटेल निर्माणको क्रम बढ्दै गएपछि पर्यटकलाई निकै सुविधा पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण विगत दुई वर्षदेखि होटेल व्यवसाय फस्टाउन सकेको थिएन । अहिले भविष्यलाई लक्षित गरेर यहाँ स्तरीय होटेलहरु धमाधम निर्माण भइरहेका छन् । म्याग्दीमा होटेल र रेष्टुरेन्टमा मात्रै पाँच अर्बभन्दा बढी लगानी रहेको बताइएको छ ।

