

बालाजु ‘हिट एण्ड रन’ घटनाः २४ घण्टा नबित्दै समातिए अभियुक्त!

काठमाडौं – बिहीवार बिहान ५ बजेर ५४ मिनेटको समयमा बालाजुको गंगा हल अगाडि बसले हिँडिरहेका दुईजना ठक्कर दियो। पैदलयात्रुलाई ठक्कर दिएर बस भागेको थियो।
सेटमा दुर्घटनाको खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्र मातहतका एरियालाई सिल गर्न आदेश दिँदै घटनास्थलतर्फ हानिए।
गम्भीर घाइते भएका व्यक्तिलाई उपचारका लागि नजिकैको जनमैत्री अस्पताल पुर्याएर आसपासका चोकहरुमा चेकजाँच सुरु गरे। तर, अस्पताल पुर्याएलगत्तै उनीहरुको मृत्यु भयो।
बसको ठक्करबाट रसुवा कालिका गाउँपालिका घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका जागृती टोल बस्ने अन्दाजी ५०\५५ वर्षीया दुर्गामाया थापा मगरको मृत्यु भएको हो।
उनीहरुको मृत्युपछि फरार चालक र गाडी फेला पार्न महानगरीय प्रहरी परिसरको टोलीले समेत चेकजाँचमा कडाई गर्यो। तर, प्रत्यक्षदर्शी नभएकाले ठक्कर दिने चालक पक्राउ गर्न प्रहरीलाई चुनौती थियो।
ठक्कर दिने बसको नम्बर मात्र होइन रंगबारे पनि प्रहरीलाई केही जानकारी थिएन। प्रहरीले बालाजु गंगा हल आसपासको सीसीटिभी फुटेज हेर्न थाल्यो। अन्ततः ६ बजेको समयमा बालाजुबाट एउटा बस तीव्र गतिमा हुँइकिएको फुटेजमा देखियो।
प्रहरीलाई शंका लाग्यो। उक्त बसको नम्बर स्पष्ट नदेखिए पनि प्रहरीले गाडीको अगाडि ‘डिलक्स’ र धादिङ लेखिएको थियो। गाडीको रंग, अगाडि ‘डिलक्स’ र धादिङ लेखेको प्रष्ट भएपछि प्रहरीले धादिङतर्फ चल्ने गाडीहरुमाथि निगरानी बढायो।
बालाजु वृत्तले उक्त सीसीटिभी फुटेजहरु हरेक प्रहरी कार्यालयमा पठाइसकेको थियो। सोही क्रममा १२ बजेको समयमा थानकोट नाकाबाट गाडी कटिसकेको थाहा भएपछि बालाजु वृत्तका अनुसन्धान अधिकृतको टोलीसमेत धादिङ हानियो।
धादिङ प्रहरीको समन्वयमा उक्त रंगको बस धादिङशेवीमा रहेको खबर आयो। तत्कालै धादिङ प्रहरीले उक्त बस र चालकलाई नियन्त्रणमा लियो। त्यसपछि काठमाडौंबाट खटिएको अनुसन्धान अधिकृतको टोली पुगेर चालकमाथि सोधपुछ गर्यो।
सोधपुछको क्रममा बस चालकले घटना स्वीकार गरे। यसरी बालाजु ‘हिट एण्ड रन’ घटनाका अभियुक्तलाई चौबिस घण्टा नबित्दै बालाजु प्रहरीले पक्राउ गर्न सफल भएको हो।
घटना भएको चौबिस घण्टा नबत्दिै प्रहरीले फरार चालक धादिङ सिद्धलेक गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलिया र वाग्मती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको बस नियन्त्रणमा लिन सफल भएको हो।
नयाँ बसपार्कबाट बालाजुतर्फ आइरहेको बसले उनीहरुलाई ठक्कर दिएपछि गाडीसहित फरार भएका थपलियालाई बिहीबार राति नै धादिङको वेशीबाट पक्राउ गरेको डिएसपी मिश्रले जानकारी दिए। ठक्कर दिएर थपलिया वेशीमा गाडीमै लुकेर बसेका थिए।
प्रहरीसँगको बयानमा चालक थपलियाले दुई जनालाई ठक्कर दिएपछि गाडी सानो भर्याङनजिकै एक पेट्रोल पम्पमा लगेर राखेको बताएका छन्। त्यसपछि अर्कै गाडी चढेर धादिङ पुगेको थपलियाले भनेका छन्।
उक्त बस साहुले अर्कै चालक बोलाएर पेट्रोल पम्पबाट निकालेर लगेको प्रहरीले जनाएको छ। थानकोट नाकाबाट बस कटेपछि वेशीमा लगेर ठक्कर दिएर फरार चालकलाई जिम्मा लगाइएको हुनसक्ने प्रहरीको अनुमान छ।
चालक थपलियामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

