

‘एमसीसी इफेक्ट’ : आज भित्र संसद् बैठक बाहिर विरोध प्रदर्शन

काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध आज पनि विभिन्न राजनीतिक दल र मोर्चाले विरोध प्रदर्शन गर्दै छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले प्रदर्शन गर्न लागेका हुन् ।
आज मध्याह्न १२ बजे माइतीघरबाट संसद् भवनअगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने चर्चा छ । यद्यपि, सत्ता गठबन्धनमा आबद्ध दलबीच त्यसबारेमा सहमति भइसकेको छैन । संसद् सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा पनि एमसीसी राखिएको छैन । तर, संसद् बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएकोले उक्त बैठकले कार्यसूची हेरफेर गर्ने संभावना पनि रहेको छ ।
यसअघि, गएको बुधबारको विरोध प्रदर्शन तनावग्रत बनेको थियो । त्यस दिन पनि प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने चर्चा थियो । तर, कार्यसूचीमै परेन ।त्यस दिन प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले पनि प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहरादेखि अश्रुग्याससम्म प्रहार गरेको थियो । प्रदर्शनकारी संसद् भवनको गेटसम्म पुगेका थिए ।

