

नेपाल–ओमान भिड्दै : जित निकाल्दै विश्वकप छनोट बलियो बनाउँदै नेपाल

काठमाडौँ – अष्ट्रेलियामा आउँदो अक्टोबरदेखि हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले शुक्रबार आयोजक ओमानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । क्वालिफायरमा नेपालको यो पहिलो खेल हो । तर, यस खेलको नतिजाले नेपालको आगामी यात्रालाई धेरै हदसम्म निर्देशित गर्दछ । ग्लोबल क्वालिफायरमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ओमानमा हुने ग्लोबल क्वालिफायर ‘ए’मा आठ टोली छन् । त्यस्तै, जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायर ‘बी’मा आठ टोली सहभागी छन् ।
ग्लोबल क्वालिफायर ‘ए’को समूह ‘ए’मा बहराइन, जर्मनी, आयरल्यान्ड र युनाइटेड अरब इमिरेट्स यूएई छन् । समूह ‘बी’मा क्यानडा, नेपाल, ओमान र फिलिपिन्स छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल जितेर फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियाको टिकट पक्का गर्नेछन् ।
प्रतियोगिता २० खेल हुनेछन् । २० खेलबाट दुई टोलीले विश्वकप खेल्नेछन् । समूह ‘बी’बाट नेपाल र आयोजक ओमानलाई बलियो प्रतिस्पर्धी मानिएको छ । त्यस्तै, समूह ‘ए’मा टेस्ट राष्ट्र आयरल्यान्ड र यूएईलाई बलियो मानिएको छ । शुक्रबार नेपालले ओमानलाई हराएमा समूह विजेता बन्ने आकलन गरिएको छ । त्यसकारण पनि ओमानविरुद्धको खेल नेपालका लागि महत्त्वपूर्ण छ । नेपालका लागि मात्र होइन, ओमानका लागि यस खेलको नतिजा महत्त्वपूर्ण छ ।
यद्दपि, क्यानडा, जर्मनी, बहराइन र फिलिपिन्सले पनि आश्चर्यचकित नतिजा निकाल्ने सम्भावना उत्तिकै छ । आठ टोलीमध्ये आयरल्यान्ड मात्र आईसीसीको पूर्ण सदस्य हो । क्रिकेटको विश्व मञ्चमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको जर्मनी र फिलिपिन्सले ‘अन्डर डग’का रूपमा रहेका छन् । समूह ‘ए’मा आयरल्यान्ड र यूएईलाई बलियो मानिएको छ । आयरल्यान्डलाई प्रतियोगिताकै उपाधि दाबेदारका रूपमा हेरिएको छ । त्यसैले आयरल्यान्ड समूह ‘ए’को विजेता बन्ने आकलन गरिएको छ । त्यस्तै, ओमान र नेपाल समूह ‘बी’मा विजेता बन्दै आयरल्यान्डसँगको सम्भावित भिडन्त टार्न चाहन्छन् । त्यसैले पनि ओमान र नेपालका लागि पहिलो खेल महत्त्वपूर्ण हुनेछ ।
ओमानले सन् २०२१ को ट्वान्टी–२० विश्वकपमा पनि प्रतिस्पर्धा गरेको थियो । पपुवा न्युगिनीविरुद्ध १० विकेटको विजय हासिल गरे पनि बाँकी खेल हारेपछि ओमान पहिलो चरणबाटै बाहिरिको थियो । नेपालले पनि २०१४ को विश्वकप खेलेको थियो । नेपाल दोस्रोपटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान गएको छ । यसअघि, ओमानमै सम्पन्न चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल र ओमान आमने–सामने भएका थिए । उक्त खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । त्यसअघि, २०१९ अक्टोबरमा सम्पन्न खेलमा भने ओमान ६ विकेटले विजयी भएको थियो । फेब्रुअरी ११ देखि १४ सम्म भएको चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा यूएई र आयरल्यान्डले समान दुई खेल जिते भने ओमान र नेपालले एकरएक खेल जितेका थिए ।
चारदेशीय शृंखलामा दीपेन्द्रसिंह ऐरीले ५३ बलमा आठ चौका र एक छक्कासहित अविजित ७३ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरी अहिले उत्कृष्ट लयमा छन् । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पछिल्लोपटकको ओमान भ्रमणमा राम्रो प्रदर्शन गरेका थिए । तथापि, त्यो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो । अहिले ट्वान्टी–२० स्वरूपको प्रतियोगिता हो । नेपाली राष्ट्रिय टोलीले सन्दीप लामिछानेको कप्तानीमा पहिलो औपचारिक प्रतियोगिता खेल्दै छ । सन्दीप मात्र होइन, मुख्य प्रशिक्षक पुबुदु दायानायकेको पनि दोस्रो इनिङ्स सम्हाल्न नेपाल फर्किएपछि यो पहिलो औपचारिक प्रतियोगिता हो । नेपालले चारदेशीय शृंखला नाम दिइएको ुवार्मअफु खेलमा धेरै प्रयोग गरेको थियो । बलिङदेखि ब्याटिङसम्म । त्यसैले ओमानविरुद्ध नेपालले कुन रणनीति अपनाउँछ भन्ने अन्योलमै छ ।
ओमानले पनि पछिल्लो समय एकनासको प्रदर्शन गर्न सकेको छैन । चारदेशीय शृंखलाअघि यूएईविरुद्ध तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ओमानले दुई खेल हारेको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो । चारदेशीय शृंखलामा पनि नेपाल र आयरल्यान्डसँग हारेको ओमानले यूएईमाथि भने सात विकेटको विजय हासिल गरेको थियो । शुक्रबार नेपालविरुद्ध खेल्दा ओमानलाई घरेलु मैदानको फाइदा भने हुन्छ ।

