‘गाउँमा मोटरबाटो आएपछि . . .


काठमाडौँ –  आङ सिरिंगै हुने भीरपाखा। वस्तुभाउ उकाली–ओराली गराउँदासमेत समस्या। जिल्लाकै बढी भौगोलिक रूपमा भिरालो जमिन भएको पालिका हो, बागलुङको तमानखोला गाउँपालिका। अहिले त्यही आङ सिरिङ्गै हुने भिरमा बाह्रै महिना सवारी गुड्दै आएका छन्। तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानीकी कली छन्त्यालले यस्तो भिरपाखामा मोटर गुड्लान् भनेर कहिल्यै नसोचेको बताए।

घर अघिबाट दैनिक सवारी गुड्दा छन्त्यालले विकासको अनुभूति गरेका छन्।  ‘मोटरबाटोले गाउँको मुहारै फेरिएको छ, तारे भिर काटेर मोटर आउलान् भन्ने सोचेकै थिएनौं, चार वर्षअघिसम्म गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म नै ६ महिना सवारी देखिदैन्थें’, उनले भने, ‘अहिले मोटरेवल पुल बनेपछि गाउँपालिकाको केन्द्र बोङ्गादोभानमा बाह्रैमास सवारी आउँछन्, गाउँका साना–साना खोलामा समेत हिमपाइप राखिएको छ, खोला बढ्दा एक दुई दिन समस्या हुन्छ नत्र बाह्रैमास गाउँमा सवारी गुड्छन्।’

पहिला पहिला सडक नहुँदा बिरामीलाई मान्छेले डोकोमा बोकेर लैजानु परेको र समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो। अहिले मोटरबाटोले गर्दा बिरामीहरू गाडीमै अस्पतालसम्म पुगेर उपचार गराउन पाउने भएकाले यहाँका स्थानीयबासी खुसी भएका छन्। बागलुङको सबैभन्दा विकट मानिने तमानखोलाका सबै टोल सडक सञ्जालसँग जोडिएका छन्। गाउँपालिका स्थापना भएको पाँच वर्षमा यहाँका २७ वटै बस्तीमै सडक पुगेको छ। गाउँपालिकाका अनुसार पाँच वर्षमा गाउँपालिकाले १२९ किलोमिटर सडक निर्माण गरेको छ।

विकास पूर्वाधारका हिसाबले स्थानीय तह गठन हुनुपूर्व यहाँका नागरिकको दैनिकी कष्टकर भए पनि अहिले सडक निर्माणले जनजीवन सहज भएको छ। बाह्रैमास सडक सञ्चालनका लागि मोटरेवल पुल र पुल नबेको खोलामा कल्भर्ट समेत बनाइएको छ।पाँच वर्ष अघिसम्म मोटरबाटोले गाउँहरू जोडिएका थिएनन्। त्यसले गर्दा तमानखोलाबासी घण्टौं लगाएर दैनिक उपभोग्य सामान घोँडाखच्चडमा ढुवानी गर्थे। तर घोडाखच्चड हिँड्ने गोरेटो बाटो अहिले मोटरबाटोमा परिणत भएका छन्।

भौगोलिक हिसाबले पिछडिएको यस ठाउँमा सडक निर्माण गर्नु निकै चुनौतीपूर्ण रहेको थियो। गाउँपालिका, गण्डकी प्रदेश र संघीय सरकारको सहयोग र सहकार्यमा यहाँका विभिन्न सडक निर्माण भएको गाउँपालिकाले जनाएको छ। गाउँ(गाउँमा सडक पुगेपछि आमनागरिकको दैनिकी फेरिएको छ। छ वडा रहेको तमानखोलाका वडा नं ६ नर्जाखानी, भित्रिवन र पात्ले गाउँ सबभन्दा दुर्गममा पर्छन्। यी गाउँमा मोटरबाटो आउँला भनेर स्थानीयबासीले कहिल्यै कल्पना समेत गरेका थिएनन्। आम नागरिकको चाहना र मागबमोजिम गाउँपालिकाले सडक पुर्‍याइएको छ।

मोटरबल सडक सञ्जालमा जोडिनु पूर्व यहाँका स्थानीयबासीलाई सामान किनमेलका लागि घण्टौं लगाएर बुर्तिबाङ बजार आउनुपर्थ्यो। सडक सञ्जालमा जोडिएपछि अहिले त्यहाँका बासिन्दा एक डेढ घण्टामै बुर्तिबाङ बजार आइपुग्छन्। सडक सञ्जालले गाउँ जोडिएपछि अहिले डोकोमा सामान बोकेर उपभोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मनबहादुर सिर्पालीले बताए। ‘मोटरबाटो त हाम्रा लागि वरदानै सावित भयो, अन्धकारबाट उज्यालोमा आएको जस्तै भएको छ’, उनले भने। गत वर्षसम्म गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पनि बाह्रै महिना गाडी चल्दैन्थे।

यस वर्ष भालिबाङखोला र लुकुरबनखोलामा मोटरेवल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुने भएको छ। गाउँपालिकाअन्तर्गत २७ गाउँ बस्ती छन्। ती सबै बस्तीमा सडक सञ्जाल पुगिसकेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। उनले यहाँका बासिन्दा घरदेखि पाँच मिनेट पैदल यात्रा गरेमा मोटर चढ्न सक्ने गरी सडक सञ्जालमा जोडिएको बताए। गाउँपालिकाका अध्यक्ष बुढा मगरले आफूहरू जनप्रतिनिधि भएर आएपछि पालिकाभर १२९ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए। यस अवधीमा गाउँपालिकाले सडक निर्माणका लागि  १० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको जानकारी दिए।

अहिलेका सडकलाई चौडा पार्ने, नाली निर्माण गर्ने र निरन्तर सवारीका साधन चल्ने गरी काम अगाडि बढाइने उनको भनाइ छ। ‘जनप्रतिनिधि भएर आउँदा तमानखोलाका गाउँ सडक सञ्जालसँग जोडिएका थोरै थिए, हामीले नागरिकको आवश्यकता र मागका आधारमा सडक निर्माण गर्‍यौं’, अध्यक्ष बुढामगरले भने, ‘अहिले गाउँपालिकाको २७ वटै बस्तीहरूमा सडक पुर्‍याएका छौं, अब यी सडकको स्तरोन्नतितर्फ ध्यान दिएका छौं, गाउँपालिकाको गुरूयोजना बनाएर प्रदेश र संघमा समेत बजेट माग गरिरहेका छौं।’

प्रतिक्रिया