

एमाले नेता विष्णु रिजाल भन्छन् : एमसीसीको छेस्कोले बेलुन फुटाउँछ कि क्या हो!

काठमाडौँ – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको सम्झौता संसदमा अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र अन्य चार दलबीच तीव्र मतभेद भइरहेको छ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता जस्ताको तस्तै संसदबाट पारित गरिहाल्नुपर्ने अडानमा छन् भने गठबन्धनका अन्य दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) यो संशोधन गरेर मात्र समर्थन गर्न सकिने भनिरहेका छन्। राष्ट्रिय जनमोर्चाले त यो खारेजै गर्नुपर्छ भन्ने आवाज उठाइरहेको छ।
बिहीबार साँझ जनमोर्चाबाहेक तीन दलका शीर्ष नेताहरूसँगको छलफलमा पनि प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि सहमति जुटाउन सकेनन्। त्यसपछि गठबन्धनको बैठक सकिएलगत्तै देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका थिए। त्यहाँ दुई नेताबीच झन्डै २ घण्टा संवाद भएको छ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवा एमसीसी पेस गरेरै छाड्ने अडानमा छन्। तर यस विषयमा छलफल गर्न पुनः गठबन्धनको बैठक आज बिहान बस्ने बताइएको छ। तर बिहीबारकाे बैठकमा उनीहरूको अडान हेर्दा सहमति हुने सम्भावना निकै कम देखिन्छ। एमसीसीमा सहमति नभए देउवा गठबन्धन नै फुटाउनेसम्मको योजनामा पुगेका छन्।
यसैले एमसीसीकै कारण गठबन्धन टुट्ने हो कि भन्ने आशंका बढेको छ। यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु रिजालले पनि यस्तै अनुमान गरेका छन्। उनी एमालेका प्रचार विभागका उपप्रमुख समेत रहेकाले उनको भनाइलाई अर्थपूर्ण मान्न सकिन्छ। ‘साथीहरू ‘हाम्रो गठबन्धन चुनावसम्म त के, घाम–जून रहेसम्म हो’ भन्नुहुन्थ्यो’, एमाले नेता रिजालले बिहीबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमसीसीको छेस्कोले बेलुन फुटाउँछ कि क्या हो!’

