मर्मत नहुँदा कच्चीसरह बन्यो मेची राजमार्गको पाँचथर खण्ड


पाँचथर – नियमित मर्मतसम्भारको कार्य नहुँदा मेची राजमार्गको पाँचथर खण्ड कच्ची सडकसरह बनेको छ । मेची राजमार्गको फिदिम–काबेली खण्डमा चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हुनुपर्ने मर्मतसम्भारको काम हुनसकेको छैन । राँके–फिदिम खण्डमा भने बाढी र पहिराका कारण भएको क्षतिको पुनःनिर्माण तथा मर्मत भएको छैन । मर्मतसम्भार अभावमा राजमार्गको पाँचथर खण्डका सयौँ स्थानमा सडक भत्कनुका साथै ठुल्ठूला खाल्डाखुल्डी परेका छन् । सडक क्षतिग्रस्त बनेपछि सवारी सञ्चालन कठिन बनेको छ ।

पाँचथर खण्डका प्रायःजसो सबै स्थानमा सडक भत्केको छ । सोमध्ये पनि भारपा–अमरपुर खण्ड अत्यधिक भत्केको छ । भारपा, चतुरेबजार, जोरपोखरी, गोपेटार, सुनुवार गोलाइ, गणेशचोकलगायत क्षेत्रमा सडकको कालोपत्र उप्केको एक वर्षभन्दा लामो समय भइसकेको छ । नियमित मर्मत नभएपछि कालोपत्र उप्केका ठाउँमा ठुल्ठूला खाल्डा पर्नुका साथै नियमित पानी जम्न थालेको छ ।

सडक क्षतिग्रस्त हुँदा सवारी सञ्चालन गर्न कठिन पर्न थालेको जिल्लाको याङवरक गाउँपालिका-४ थर्पूका राममोहन कार्की बताए । ‘एक वर्षदेखि नियमित मर्मत नहुँदा धेरै ठाउँमा सडक कच्चीजस्तै बनेको छ’, कार्कीले भने, ‘पहिले थर्पूबाट छ घण्टामा बिर्तामोड पुगिन्थ्यो, अहिले आठ-नौ घण्टा लाग्छ ।’ गत वर्षायामदेखि यो खण्ड क्षतिग्रस्त बने पनि सरकारी निकायले मर्मतसम्भारको कार्यमा चासो नदिएको कार्कीको गुनासो छ । जिल्लाको हिलिहाङ-६ जोरपोखरीका हरिराज लोवाका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष अधिक धेरै वर्षा हुँदा सडक यत्रतत्र भत्किएको हो ।

भत्किएको सडकमाथि नै धेरै वजन भएका ढुवानीका साधन गुड्दा सडक झनै क्षतिग्रस्त बनेको उनको भनाइ छ । विशेषतः पूर्वाधारका ठूला आयोजना र जलविद्युत् आयोजनाका लागि सामान ढुवानीका क्रममा धेरै वजन भएका ट्रक र टिपर गुड्दा सडक भत्किएर ठूला खाल्डाखुल्डी परेको लोवा सुनाउछन् । ‘भत्किएको सडक समयमा मर्मत नभएपछि सवारी चलाउनै कठिन पर्न थालेको छ’, उनले भने, ‘भत्किएको ठाउँमा कसैले मर्मत गरेका छैनन् । सामान्य कालोपत्र उप्केको टाल्ने कामचाहिँ हुन्छ ।’

सवारी चालक रोशन प्याकुरेलका अनुसार भत्किएको सडक मर्मत नहुँदा पानी पर्दा हिलो हुने र घाम लागे धुलो उड्ने अवस्था आएको छ । कालोपत्र सडक कच्चीसरहको बनेका कारण सवारी दुर्घटनासमेत बढेको छ । ‘बाटो सहज होला भन्ने ठानेर कच्ची सडकमा सवारी चलाउन नसक्नेहरुसमेत यात्रामा हुन्छन्’, प्याकुरेलले भने, ‘बाटो अप्ठ्यारो भएकै कारण धेरै वटा दुर्घटना भइसके । सवारी साधनमा उस्तै क्षति भइरहेको छ।’ मेची राजमार्गको मर्मतसम्भारको क्षेत्राधिकार सडक डिभिजन कार्यालय इलामको हो ।

डिभिजन कार्यालयका प्रमुख डिभिजन इञ्जीनियर विदुर पोखरेलका अनुसार ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या आएको हो । ‘पाँचथर खण्डको मर्मतका लागि गत आवमै ठेक्का लागेको रहेछ’, डिभिजन इञ्जीनियर पोखरेलले भने, ‘म आएपछि नियमित ‘फलोअप’ गरिरहेको छु । निर्माण व्यवसायीले चिसोको कारण काम गर्न नसकेको भनेका छन् ।’

गत आवमा लागेको ठेक्काअनुसार आगामी चैत मसान्तभित्र पाँचथर खण्ड मर्मतको काम सक्नुपर्ने पर्नेछ । ‘छिटो काम सुरु गर्न ताकेता गरिरहेको छु । समयमा काम सम्पन्न नभए कारबाहीमा जाने मैले स्पष्ट पारिसकेको छु’, पोखरेलले भने । आफू एक महिनाअघि इलाम डिभिजनमा सरुवा भइआएको र अवलोकनका क्रममा मेची राजमार्गको पाँचथर खण्ड अत्यधिक भत्किएको पाएको उनले बताए । ‘मैले पनि भत्किएको सडक हेरेर चाँडो काम थाल्न निर्देशन दिएको छु’, पोखरेलले भने ।

साविक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची राजमार्गमा सवारीको चाप बर्सेनि बढ्दो छ । विशेषतः ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको दर्शन गर्ने श्रद्धालुको सङ्ख्या बढ्दै गएपछि यहाँ सवारीको चाप थामिनसक्नु भएको छ । फागुन, चैत, वैशाख, जेठ, भदौ, असोज, कात्तिक र मङ्सिरमा दैनिक सयौँका सङ्ख्यामा सवारी यस राजमार्गमा सञ्चालनमा आउने गरेका छन् ।

भारबहन क्षमताभन्दा बढी सवारी सञ्चालन हुनु, नियमित मर्मतसम्भार र संरक्षण नहुनु तथा वर्षाका कारण बाढी र पहिराले क्षति पुर्‍याउँदा मेची राजमार्गको पाँचथर खण्ड अस्तव्यस्त बनेको हो ।

प्रतिक्रिया