कुकुरको टोकाइबाट २० घाइते


जलेश्वर – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् ।

बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक कुकुरले टोकेर स्थानीयवासी २० जनालाई घाइते बनाएको हो ।

विगत तीन/चार दिनको अवधिमा सो कुकुरले स्थानीय चन्दु ठाकुर, रामआश्रे मण्डल, रमेश ठाकुरसहित आठ महिला र १२ पुरुष गरी २० जनालाई टोकेर घाइते बनाएको स्थानीयवासी चन्देश्वर साहले बताए।

घाइतेहरूले जिल्ला अस्पताल जलेश्वरमा उपचार गराएका छन् । स्थानीयवासीले सो कुकुरलाई नियन्त्रण गर्न जलेश्वर नगरपालिकासँग माग गरेका छन् ।

प्रतिक्रिया