
एमसीसी ६ फागुनमा टेबल हुन्छ : कानुनमन्त्री बडू
काठमाडौं – कानुन,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले सरकारले दुईदिन सहमति खोज्ने र समझदारीको आधारमा शुक्रबारको प्रतिनिधिसभाको बैैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता टेवल गर्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको बैठकमै एमसीसी टेवल गर्न सभामुखलाई आग्रह गरेका थिए । तर, सत्ता गठबन्धन दलहरूबीचमै एमसीसीबारे मतभेद चर्किएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर शुक्रबारको बैठकमा टेवल गर्ने तयारी गरेको हो । बुधबारको प्रतिनिधि सभाको बैठकपछि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको उल्लेख गरे ।
सत्ता घटक नेकपा माओवादी केन्द्रको बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अघि बढाए त्यसको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
देउवा–दाहालबीच गठबन्धनमा पुनः एक पटक सहमतिको प्रयास गर्ने र अघि बढ्ने समझदारी बनेको बालुवाटार स्रोतले जनाएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि राखेका छन् ।
गठबन्धनमा संलग्न पाँच दलमध्ये कांग्रेस एमसीसी सम्झौता अनुमोदन गराउनुपर्ने पक्षमा छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छन् । एमसीसीलाई लिएर जनता समाजवादी पार्टीमा समेत विभाजित मत छ ।
त्यस्तै अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले पनि एमसीसी पारित गर्ने आजसम्मको समयसीमा दिएको थियो ।



कागजपत्र |
