

नयाँबानेश्वरमा एमाले संसदीय दलको बैठक जारी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा केहीबेरअघि दलको बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।
सत्ता गठबन्धनका ९८ जना सांसदहरुले हिजो(आइतबार) संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएका छन् ।
त्यसलगत्तै आइतबार आकस्मिक रुपमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग असफल पार्ने निर्णय गरेको थियो । एमाले नेताहरूका अनुसार राणाविरुद्धको महाभियोग प्रस्तावका विरुद्ध एमालेले काउन्टर स्वरूप सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारीमा छ । त्यसका लागि हस्ताक्षर अभियान नै सुरु गरेको एमालेले दलको बैठकमा औपचारिक निर्णय गरेर अघि बढ्ने योजना बनाएको छ ।
यसैगरी माहाअभियोग दर्ता भएसँगै जवरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएपछि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । कामु प्रधानन्यायाधीश कार्कीले आज (सोमबार) अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ ।

