५ विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टे समयसीमा


सुर्खेत – कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशसभा छलफलका लागि प्रस्तुत भएका पाँच विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टे समयसीमा दिएका छन् ।

सभामुख शाहीले कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको सातौँदेखि नवौँ बैठकका क्रममा प्रदेशसभामा सामान्य छलफलका लागि प्रस्तुत भएका पाँचवटै विधेयकमाथिको सामान्य छलफल समाप्त भएपछि कर्णाली प्रदेशसभा नियमावली, २०७४ को परिच्छेद १५, व्यवस्थापन कार्यविधिको नियम ९ को उपनियम १ अनुसार संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी गराए ।

प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सभामा प्रस्तुत गरेको ‘सहकारी ऐन, २०७५ पहिलो संशोधन गर्न बनेको विधेयक’, ‘कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले प्रस्तुत गरेको सूचना प्रविधि तथा आमसञ्चार स्थापना गर्न बनेको विधेयक, २०७७, ‘शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक, २०७७’ माथि संशोधनको सूचना दिन ७२ घण्टे समयसीमा प्रारम्भ भएको जनाइएको छ ।

त्यस्तै सभामुख शाहीले कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले सभामा प्रस्तुत गर्नुभएको गैरसरकारी विधेयक ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि संशोधनको सूचना दिन प्रदेशसभा सदस्यलाई ७२ घण्टे समयसीमा प्रारम्भ भएको बताए। प्रदेशसभाको अर्को बैठक आगामी फागुन १६ गते दिउँसो १ बजे बस्ने जनाइएको छ ।

प्रतिक्रिया