विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक : मन्त्री श्रेष्ठ


काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरूको माग र आवश्यकता अनुरूप नेपाली श्रमिकको सीप विकास गर्न सके विप्रेषण दोब्बरले बढाउन सकिने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित विकास समस्या समाधान समितिको बैठकमा नेपालको अर्थतन्त्र र जीविकामा निकै महत्त्व राख्ने विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले बताएका हुन् ।

उनले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताए । विकसित मुलुकहरूमा श्रम बजारको खोजी गरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गर्नुपर्ने उनको भनाइ थियो । वैदेशिक रोजगारीमा जाने श्रमिक आपूर्तिको क्रममा रहेको लामो प्रक्रियाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्त बनाउन नसकिएको उनले गुनासो गरे ।

वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको पुँजी, सीप, दक्षता र अनुभवलाई उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए । रोजगारीको ग्यारेन्टी सहित सीप विकास कार्यक्रम सातवटै प्रदेशमा विस्तार गर्ने आफ्नो योजना रहेको मन्त्री श्रेष्ठले बताए । उनले मन्त्रालय अन्तर्गतका आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिमा सुधार गर्न गम्भीर भएर काम गर्न र सेवाग्राहीलाई पारदर्शी र चुस्त सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

सो क्रममा दोस्रो चौमासिकसम्म कल सेन्टर, हेलो सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका गुनासो तथा उजुरीमध्ये ९७.८ प्रतिशत फर्छ्यौट गरिएको र २.२ प्रतिशत फर्छ्यौटको प्रक्रियामा रहेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया