इपिएस परीक्षाको निष्पक्षतामा नेपाली विश्वस्त छन् : श्रममन्त्री श्रेष्ठ


काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सञ्चालन हुने कोरियाली भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन्।

ललितपुरको भैँसेपाटीमा सञ्चालन भइरहेको कोरियाली भाषा परीक्षाको निरीक्षण गर्न पुगेका उनले सरकारी तवरमा श्रमिक पठाउन सञ्चालन गरिने भाषा परीक्षा प्रणाली वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसासमेत गरे। इपिएस परीक्षाको निष्पक्षताप्रति नेपालीको गहिरो विश्वास रहेको उनको भनाइ थियो।

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले कोरिया जान आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ। कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ जनाले आवेदन दिएका छन्।

कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन्। उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन्। कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ जनाको परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गते शुरु हुनेछ। अन्य परीक्षा पनि नियमित रुपमा सञ्चालन हुने इपिएस कोरिया शाखाले जनाएको छ।

सन् २००७ मा दुई देशका सरकारबीच श्रमका लागि नेपाली श्रमिक लैजाने सहमति भएको थियो। श्रमिकहरू जाने क्रम सन् २००८ मा शुरु भएको थियो। कोरियामा नेपालीहरू उत्पादन र कृषि तथा पशुपालनलगायत क्षेत्रमा कार्यरत छन्। सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (इपिएस) छिट्टै नवीकरण हुने समेत मन्त्री श्रेष्ठले बताए।

प्रतिक्रिया