पर्यटनमन्त्री आलेको निशानामा ‘क्यासिनो डन’! 


काठमाडौं – १८ माघमा क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्राचार गर्यो।

तर, मन्त्रालयको पत्रलाई वेवास्ता गर्दै क्यासिनो सञ्चालकहरुले ठाडो चुनौति दिए। सरकारले मन लागेको बेलामा खोल्न दिने र मन नलागेको बेलामा बन्द गरिदिने गरेको भन्दै सञ्चालकहरुले सात दिनभित्र रोयल्टी बुझाउन नसक्ने जानकारी मन्त्रालयमा गराए।

ताकेता गरेको समयावधी सकिएपछि बुधबार मन्त्रालयको निर्देशनमा पर्यटन विभागले काठमाडौं दरबारमार्गको पाँचतारे होटल याक एण्ड यति र बाँकेको ड्रिमल्यान्ड होटलको इजाजतपत्र र होटल स्तर वर्गीकरणको प्रमाणपत्र रद्द गरिदिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कमाण्ड प्रेमबहादुर आलेले हाँकिरहेका छन्। पर्यटनमन्त्री आलेले दुवै होटल र उनीहरुले सञ्चालन गरेको क्यासिनो बन्द गर्न निर्देशन दिएका हुन्।

याक एन्ड यतिले रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी छ। त्यस्तै नेपालगन्जको ड्रिमल्यान्ड होटल र मिनि क्यासिनो सञ्चालन गरेको ह्याप्पी आवरले ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ रोयल्टी र दस्तुर तिर्न बाँकी छ।

अन्तिमपटक दिइएको सातदिने अल्टिमेटममा रोयल्टी र नवीकरण दस्तुर नबुझाएपछि होटल र क्यासिनो बन्द गराउन निर्देशन दिएका हुन् मन्त्री आलेले।

नेपालगन्जको ह्याप्पी आवर क्यासिनो सुरेन्द्रबहादुर सिंहको हो। त्यस्तै होटल याक एन्ड यतिमा सञ्चालित रोयल क्यासिनो सिंहले बेचिसकेका छन्। उनै सिंह सञ्चालक रहँदादेखि याक एण्ड यतिले रोयल्टी नतिरेको पाइएको छ।

सिंहपछि उक्त क्यासिनो भारतीय नागरिक आषिश पटेलले खरिद गरी नेपाली नागरिक जयन्ती थापाको नाममा राखेका थिए। तर, पटेलले पनि उक्त क्यासिनो अर्कैलाई बेचिसकेका छन्।

याक एन्ड यति होटलमा रोयल क्यासिनो सञ्चालन गरी करोडौं रुपैयाँ कर चुक्ता नगरी क्यासिनो बिक्री गरेका सिंहले अहिले पनि देशका अन्य स्थानहरुमा अवैध रुपमा मिनी क्यासिनो सञ्चालन गर्दै आएका छन्।

सिंहले प्रशासन र पहुँचका आधारमा यसरी कानुनको धज्जी उडाउँदै मनमौजी धन्दा चलाउने गर्छन्। राजाको प्रत्यक्ष शासनकालमा ज्वाँई राजबहादुर सिंहको ‘पावर’ लगाएर क्यासिनामा एकछत्र लगानी गरेका सिंहले हाल भने विभिन्न दलका नेता, तिनका छोराछोरी र खासगरी प्रहरीको आडमा क्यासिनोको अवैध कारोबार गरिरहेका थिए।

‘क्यासिनो डन’ को नामले चिनिएका सिंहले सञ्चालन गरेको क्यासिनोमाथि कारबाही प्रक्रिया अघि बढेपछि मन्त्री आलेको जताततै प्रशंसा भएको हो। यतिबेला मन्त्री आलेको निशानामा परेका छन् सिंह।

त्यसैले मन्त्री आलेले एक्सन लिँदा सिंहले अवैध रुपमा सञ्चालन गरिरहेको क्यासिनो बन्द हुने अवस्थामा पुगेको छ। २०७० सालदेखि ताकेता गर्दा पनि सिंहले रोयल्टी तिरेका थिएनन्।

२०७० सालयता, देशमा धेरै पर्यटनमन्त्री फेरिए, स्व. रवीन्द्र अधिकारी, भानुभक्त ढकालदेखि योगेश भट्टराईसम्म । तर, उनीहरुले कसैले पनि आफ्नो कार्यकालमा क्यासिनोहरुलाई रोयल्टी तिराउन वा कारबाही गर्ने आँट गरेनन्।

अधिकारी, ढकाल र भट्टराई नेकपा एमालेका नेताहरु हुन्। उनीहरुले क्यासिनो सञ्चालकहरुलाई संरक्षण दिएर राखे। त्यतिबेला आर्थिक प्रलोभनमा परेर उनीहरुले कारबाही गर्नुको सट्टा संरक्षण दिएर राखेको आरोप छ । तर, आलेले रोयल्टी नबुझाउने क्यासिनोहरुलाई कारबाही गरेरै छाडे। अरुले गर्न नसकेको काम मन्त्री आलेले गरेपछि वर्तमान सरकारमा आलेले हाई–हाई पाएका छन्। आले नेकपा एमालेसँग फुटेर बनेको एकीकृत समाजवादीका नेता हुन्।

समयमा रोयल्टी नबुझाउने र नवीकरण दस्तुर नगर्ने जुनसुकै क्यासिनोमाथि कारबाही हुने मन्त्री आलेले बताए। उनले भने, ‘अवैध रुपमा सञ्चालिक क्यासिनोहरु सबै बन्द हुन्छ। त्यसको लागि एउटा खाका तयार भइसकेको छ।’

तीन क्यासिनोले बुझाए आधा रकम

पर्यटन विभागले याक एन्ड यति र ह्याप्पी आवरसँगै ओरियन्टल होटल लिमिटेड, सेन्ट्रल मिडिया र रक इन्टरनेशनल क्यासिनोलाई पनि अल्टिमेटम दिएको थियो।

ओरियन्टलले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेशनलले ११ करोड ४५ लाख रोयल्टी बुझाउन बाँकी थियो। तर, उनीहरुले आधा रकम बुझाएको मन्त्रालयले जनाएको छ। ती क्यासिनोहरुले बाँकी रोयल्टी पनि छिट्टै नै बुझाउने प्रतिबद्धता जनाएको मन्त्रालय स्रोतले जानकारी दियो।

मन्त्रालयले होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि, ह्यापी आवर प्रालि र सेन्ट्रल मिडिया प्रालिले क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने बक्यौता चुक्ता गर्न पत्राचार गरेको थियो ।

प्रतिक्रिया