थप दुई प्रदेशमा पनि भित्रियाे मनसुन


काठमाडौं – यस वर्षका लागि भित्रिन बाँकी थप दुई प्रदेशमा मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको हाे ।

नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । यससँगै मनसुन प्रवेश भएको प्रदेश छ वटा पुगेको छ ।

देशका बाँकी रहेको भू-भागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने बताइएको छ ।

प्रतिक्रिया