कर्तव्य ज्यान मुद्दाका फरार दोषी २० वर्षपछि पक्राउ
सुर्खेत – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ ।
आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका महावै गाउँपालिका-३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतस्थित बुद्बुदे टोल बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको प्रवक्ता एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
विसं २०५८ साउन २८ गते आफ्नै श्रीमतीको हत्या गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सिंहलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि २०५८ भदौ १४ गते कारागार चलान गरेको थियो । प्रहरीका अनुसार उनी २०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर फरार रहेका थिए ।
विसं २०६५ मङ्सिर १३ गते अदालतले अन्तिम फैसला गर्दै सिंहलाई २० वर्षको कैद सजाय तोकेको थियो । पक्राउ गरिएका सिंहलाई अदालतमा पेश गरेर कैद भुक्तानका लागि आजै सुर्खेत कारागार चलान गरिएको प्रहरीले जनाएको छ।