

संसद विघटन कदममाथि कांग्रेस अनिर्णित, देउवामाथि शंकाको आधार जयबहादुर चन्दको सिफारिस

काठमाडौं– प्रतिनिधि सभा विघटनको विरोध गर्ने कि समर्थन गर्ने भनी मंगलबार नेपाली कांग्रेसको केन्द्रीय समिति अनिर्णित बनेको छ।
नेताहरूको धारणा राख्ने क्रम नसिकएको भन्दै बुधबारका लागि पनि बैठक निरन्तरता हुने बताइएको छ।
तर सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन सक्ने भन्दै नेताहरूले शंकाको संकेत दिएका छन्। सो क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तका लागि सिफारिस भएका प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक (एआईजी) जयबहादुर चन्दको नाम देउवासँग जोडिएको छ।
‘त्यसबेला प्रहरी महानिरिक्षक (आईजी) बनाउनका लागि उहाँले दबाब दिँदा निर्णय भएको थियो, अदालतले खारेज गरिदियो। जयबहादुरप्रति उहाँको प्रेमका कारण नै सदन विघटनमा पनि सहयोग गर्न सक्नुहुन्छ भन्ने आशंका छ’, कांग्रेस स्रोतले भन्यो।
संवैधानिक परिषदले प्रमुख आयुक्तमा प्रेमकुमार राईसँगै चन्द र किशोर सिलवालको सिफारिस गरेको थियो। ३० मंसिरमा गरेको नियुक्ति सिफारिस प्रतिनिधि सभा विघटन भएपछि मात्रै सार्वजनिक भएको थियो।

