

अग्नी सापकोटासहित विपक्षी बनाई प्रचण्ड पक्षधरले सर्वोच्चमा दर्ता गराए रिट

काठमाडौं– प्रतिनिधि सभा विघटन प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका चार सांसदले सभामुख अग्नी सापकोटालाई समेत विपक्षी बनाई सर्वोच्च मंगलबार अदालतमा रिट दर्ता गराएका छन्।
सापकोटासहित राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि विपक्षी बनाइएको छ। दर्ता गरिएको रिटमा ‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौं’ भनिएको छ।
मिति २०७७–९–५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ।

