कांग्रेस पार्टी प्रवक्तामा डा. महत


काठमाडौं – नेपाली कांग्रेसको प्रवक्तामा डाक्टर प्रकाशशरण महत मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन्।

‘सभापतिज्यूले आज प्रवक्तामा महतलाई मनोनित गरेका हुन्,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

यसअघिका प्रवक्ता विश्वप्रकाश शर्मा १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ताको जिम्मेवारी खाली रहेको थियो।

शर्मालाई १३ औं महाधिवेशनपछि देउवाले पार्टी प्रवक्ताको जिम्मेवारीमा नियुक्त गरेका थिए।

पछिल्लो समय रमेश लेखकलाई पार्टी प्रवक्ता मनोनित गर्न लागिएको चर्चा पनि आयो।

त्यस्तै नेताहरु एनपी साउद, उदयशमशेर राणा, डा. डीला संग्रौला र रामहरी खतिवडाको नाम चर्चामा आएको थियो। यिनीहरु सबै देउवा निकट हुन्।

कांग्रेसमा प्रवक्तालाई पदाधिकारी सरह मानिन्छ। पदाधिकारी बैठकमा सहभागी हुने र पार्टीका महत्वपूर्ण निर्णय प्रक्रियामा सहभागिता हुने भएकाले कांग्रेसभित्र प्रवक्ता पदप्रति धेरैको आकर्षण रहेको मानिन्छ।

पार्टीका निर्णय वा आधिकारीक धारणा सार्वजनिक गर्ने पद भएकाले पनि प्रवक्ता भएपछि पार्टीभित्र र बाहिर स्थापित हुन सहज हुने विश्वास कांग्रेस नेताहरुको छ।

प्रतिक्रिया