एमसीसी पत्र सार्वजनिक भएपछि प्रचण्डविरूद्ध खनिए बाबुराम : भित्र खाओवाद बाहिर माओवाद !


काठमाडाैँ – एमसीसीको कडा विरोधीका रूपमा प्रस्तुत भइरहेको सत्तारुढ नेकपा माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी संसदबाट अनुमोदन गर्ने वाचासहित संयुक्त रूपमा अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएपछि यतिबेला नेपालको राजनीतिमा तरंग छाएको छ।

खासगरी माओवादी केन्द्र तथा यसका अध्यक्ष प्रचण्डविरुद्ध आलोचनाको ओइरो लागेको छ। यसै मेलोमा कुनै बेला माओवादी नेता नै रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि माओवादी केन्द्रको कडा आलोचना गरेका छन्।  दस वर्षसम्म प्रचण्डकै सहयोद्धा भएर माओवादी सशस्त्र विद्रोहमा सामेल डा. भट्टराईले प्रचण्डविरुद्ध तीखो आलोचना गरेका हुन्। हाल डा. भट्टराई सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष हुन्।

‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात! भित्र खाओवाद बाहिर माओवाद’, डा. भट्टराईले आइतबार राति ट्विट गरेका छन्, ‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन। एमसीसी जुन ढंगले गिजोलिँदै छ, त्यसको परिणाम गम्भीर हुनसक्छ। अति भए खति हुन्छ है!’ डा. भट्टराई एमसीसी संसदबाट अनुमोदन गरिनुपर्छ भन्ने पक्षमा छन्।

प्रतिक्रिया