सेवाग्राहीबाट २ लाख घुस लिने वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको २ लाख रुपैया घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा महर्जनले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

सहायक प्रवक्ता भण्डारीका अनुसार वडा सदस्य महर्जनविरुद्ध बिगो २ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।

प्रतिक्रिया