हतियारसहित भारतीय प्रहरी बर्दियाकाे गुलरियामा, स्थानीय आक्रोशित


बर्दिया – गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरियामा हतियारसहित भारतीय प्रहरी प्रवेश गरेका छन् । नेपाल-भारत सीमामा पर्ने उत्तर प्रदेश बहराइच मुर्तिहा नाकाबाट भारतीय कोतवाली प्रहरीसहितको टोली गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका हुन् ।

भारतीय प्रहरीका दरोगा (उपरीक्षक) भारतीय प्रहरी पोसाकमा पेस्ताेलसहित अनधिकृत रूपमा आज बिहीवार बेलुकी ६ बजेतिर सदरमुकाम गुलरिया प्रवेश गरेका जनाइएको छ । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका टाेलीले बर्दिया गुलरियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयवासीले बताएका छन् ।

भारतीय प्रहरी पोसाकमा ज्याकेट लगाएर उनीहरू गुलरिया नजिक मुर्तिहा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ड्युटीमा रहेका भारतीय प्रहरी गाडीमा तेल हाल्ने प्रयोजनका लागि गुलरिया आएको भन्ने खुलेको बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।

सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाका अनुसार सीमामा बसेका सुरक्षाकर्मीहरूसँग उनीहरूले ड्युटीमा रहेका बेला गाडीमा तेल सकिएपछि तेल हाल्न बर्दियाको सदरमुकाम गुलरिया जान लागेको बताएका थिए । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनीहरूलाई जाँच नगरि प्रवेश गर्न दिएकोमा स्थानीयवासी आक्रोशित भएका छन् ।

सीमा नाकामा तैनाथ सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको प्रहरीले जनाएकाे छ । बेला–बेला भारतीय प्रहरी हतियारसहित बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गर्ने गरेका घटना बाहिरिएका छन् ।

प्रतिक्रिया