
बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौं – नेपाली काँग्रेसका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न अध्यक्षद्वय प्रचण्ड र नेपाल आज (बुधबार) दिउँसो बालुवाटार पुगेका थिए । अमेरिकी सहायता परियोजना (एमसीसी) र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन् । देउवाले पछिल्लो समय एमसीसी अनुमोदन गर्न दबाब बढाएपछि गठबन्धनमा चिसोपना आएको छ । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले बताएको छ ।
मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए । प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तोक्ने बताएका थिए । त्यस्तै पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरेका छन् ।
देउवाले आफूनिकट नेताहरू समेत प्रचण्ड र माधव नेपाल निवासमा पठाएर यी दुवै विषयमा मनाउने कोसिस समेत गरेका छन् ।



कागजपत्र |
