बागमती सरकारले तीन वटा मल कारखाना स्थापना गर्ने


काठमाडौँ – बागमती प्रदेश सरकारले प्रदेशमा ३ वटा मल कारखाना स्थापना गर्ने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो।

केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले भने, ‘सधैँ मलको हाहाकार हुने गरेको छ। मलकै कारण सरकार बदनाम हुँदै आएको छ। त्यसैले प्रदेशमा सरकारले मल उत्पादन कारखाना स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।’

सो थाई कम्पनीले प्रदेश सरकारसँग नियमित रुपमा २ सय मेगावाट बिजुली उपलब्ध गराउनुपर्ने शर्त राखेको उनले बताए। ‘उनीहरूको एउटा मात्रै माग बिजुलीको छ’, उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभइरहेको अवस्थामा हामीले विद्युत प्राधिकरणसँग सल्लाह गरेर मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापनाको पहल गर्ने निर्णय गरेका छौँ।’

मन्त्री खनालले मल कारखाना कहाँ कसरी स्थापना गर्ने भन्ने विषयमा प्रदेश सरकारले विज्ञको टोलीसँग छलफल गर्ने पनि बताए।

प्रतिक्रिया